०४ साउन २०८३, सोमबार

बीजेपीमा मुस्लिम सांसदको संख्या शून्य, देशैभरबाट जम्मा २५

बीजेपीमा मुस्लिम सांसदको संख्या शून्य, देशैभरबाट जम्मा २५

काठमाडौँ - भारतीय लोकसभामा जनसंख्याको हिसाबले निकै कम मुस्लिम प्रतिनिधिको उपस्थिति हुने गर्छ । तर हालै सम्पन्न भएको १७ औं लोकसभाको निर्वाचनमा पहिलाको भन्दा बढी प्रतिनिधित्व हुने देखिएको छ ।

यसपटक जम्मा २५ सांसद लोकसभाका लागि निर्वाचित भएका छन् । ति मध्ये सबैभन्दा धेरै अर्थात ६ जना उत्तरप्रदेशबाट छन् । २०१४ को लोकसभा निर्वाचनमा उत्तरप्रदेशबाट एउटा पनि मुस्लिम प्रतिनिधि निर्वाचित हुन सकेको थिएन ।

उत्तरप्रदेशपछि सबैभन्दा धेरै प्रतिनिधित्व पश्चिम बङ्गालबाट हुने देखिएको छ । पश्चिम बङ्गालबाट ४ सांसद त्रिणमूल कांग्रेसको तर्फबाट छन् भने १ कांग्रेसको तर्फबाट छन् । यसबाहेक केरला र जम्मु काश्मीरबाट ३/३ मुस्लिम सांसदहरू निर्वाचित भएका छन् ।

असम र विहारबाट पनि २/२ मुस्लिम सांसदहरूले निर्वाचन जितेका छन् भने महाराष्ट्र, तामिलनाडू र पन्जाबबाट १/१ मुस्लिम सांसदहरू निर्वाचित भएका छन् । बीजेपीले जम्मा ६ जना मुस्लिम उम्मेदवारलाई टिकट दिएको थियो जसमा एक जनाले पनि जित्न सकेनन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दू राष्ट्रवादी र पाकिस्तान विरोधी छवि बनाएको आरोप लाग्ने गरेको छ । कतिपय मुस्लिम नेताहरूले भारतमा आफू असुरक्षित भएको दाबी गरिरहेका छन् । ५ सय ४३ सीटमा हुने लोकसभा निर्वाचनमा मुस्लिमको प्रतिनिधित्व निकै कम देखिएपछि संसारको सबभन्दा ठूलो लोकतन्त्रमा समावेशिताको खडेरी लागेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्