
काठमाडौं- काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिवार २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट संकलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।
बागमती सफाइ महाअभियानको ३१५औं हप्तामा बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १९ संस्थाका स्वयंसेवीको सक्रियता थियो । यस्तै आलोकनगर सफाइको १११ हप्ताको समूहसमेत वाग्मती सफाइमा सहभागी भएको जनाइएको छ ।
बागमतीको तिलगंगा क्षेत्रको २१६औं हप्ताको सफाइ पनि आज बानेश्वर क्याम्सअघिको क्षेत्रमै गरियो । सफाइमा महानगरपालिका–८ तिलगंगा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको पनि सक्रियतामा थियो । यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७७ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । आज यस क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
रुद्रमती सफाइ अभियानको २६९औं हप्तामा रातोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की सहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । यसैगरी सुन्दरीघाटस्थित बागमती नदी किनारमा १२५ औं हप्ताको सफाइ गरियो ।
यस्तै मनोहरा नदी सफाइको ११४औं हप्तामा काठमाडौं महानगरपालिका–३२ बालकुमारी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ सफाइ अभियानको १११औं हप्तामा माछा पोखरीबाट गङ्गाहलसम्मको क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । यस्तै आलोकनगर सफाइको १११औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
महिला अभियानकर्मीको बाहुल्यता रहेको सफाइ अभियानले एकै स्थानबाट एक ट्रकभन्दा बढी गाँजा उखेलेको छ । चक्रपथ वाफल खण्ड सफाइको ९३औं हप्तामा बुद्धपार्कबाट सानो भर्याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वमन्त्री विक्रमबहादुर थापा पनि सहभागी थिए ।