
विराटनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सोमवार आह्वान गरेको बन्दबाट विराटनगरमा आंशिक प्रभाव परेको छ ।
बन्दका कारण शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् ।
लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटी सफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन् ।
जिल्लामा कुनै अप्रिय घटना नभएपनि विराटनगर महानगरपालिका–४ र १ को सिमानामा पर्ने पहडगछस्थित सडकको पूर्वतर्फ बिजुलीको खम्बा नजिक शंकास्पद् वस्तु फेला परेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।
प्रेसर कुकरजस्तो देखिने प्लाष्टिक झोलामा रहेको सो वस्तु बम नै भएको प्रहरीको आशंका छ ।
सोमवार बिहान प्रातः भ्रमणमा निस्केका स्थानीयले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सुरक्षा दिइरहेको छ । बम पहिचान गर्ने नेपाली सेनाका डिस्पोजल टोली आइनसकेको र अहिले सो क्षेत्रमा मानिसको भीड लागेको छ ।