२६ असार २०८३, शुक्रबार

असारबाट आर्क ब्रिज सञ्चालनमा आउने

असारबाट आर्क ब्रिज सञ्चालनमा आउने
फाइल फोटो

चितवन- पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्क ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । 

पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरू हुँदैछ । तनहुँतर्फ पुल भन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो पारेर पुलमा जोड्नुपर्ने हुन्छ । जसका लागि यही जेठ १६ गतेबाट २५ गतेसम्म रातिमा सडक रोकेर काम गर्ने तयारी गरिएको उनले जानकारी दिए । 

करीब एक सय मिटर परसम्म सडक गहिरो बनाएर पुलसँग जोड्ने तयारी गरिएको छ । प्रमुख रोकायाले यी सबै काम सकेर असार पहिलो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । हाल सञ्चालनमा रहेको पुल जीर्ण बनेपछि विसं २०६९ फागुन २३ गते सो पुलको निर्माण थालिएको थियो । 

एलाइट एड्भेञ्चर लोहनी जेभिले १२ करोड रुपैयाँमा बोलपत्र सकार गरी निर्माणको काम शुरू गरेको थियो । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले नक्साङ्कन लगायतका विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदै छ । १६० मिटर लामो सो पुलको आर्कको भाग १२० मिटर रहेको छ । सात दशमलब पाँच मिटरमा गाडी गुड्ने गरि बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । 

पुल सम्पन्न भएपछि चिनियाँ प्राविधिक झिकाएर पुरानो पुल मर्मत गरी दुवै पुललाई प्रयोगमा ल्याइने योजना बनाइएको रोकायाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्