
काठमाडौं – अमेरिकामा संसारकै सबभन्दा महंगो औषधि बिक्ने तयारीमा छ । यो औषधिको उपयोग स्पाइनल मस्क्युलर एट्रोफीको जिन थेरापीमा हुन्छ ।
मांसपेशी खिइँदै जाने यो दुर्लभ रोग प्राणघातक हुन्छ । शिशुहरू दुई वर्षअगावै यस रोगका कारण मर्ने गरेका छन् ।
अमेरिकामा खाद्य तथा औषधि विभागले शुक्रवार यो औषधि प्रयोग गर्न अनुमति दिएको छ ।
यसले आनुवंशिक कारणले हुने स्पाइनल कोर्ड एट्रोफीको खतरा घटाउँछ र जरैबाट निर्मूल गर्न सक्छ । यो पहिलो जिन थेरापी हो जसले प्राणघातक आनुवंशिक रोगलाई उपचार गर्छ ।
मस्क्युलर एट्रोफी भएपछि शरीरका अंगलाई सञ्चालन गर्ने अवयवहरूले काम गर्न छोड्छन् । अनि रोगीलाई हिँडडुल गर्न, बोल्न, खाना निल्न र सास फेर्न समेत गाह्रो हुन्छ ।
संसारमा जन्मिने प्रत्येक ११ हजार शिशुमध्ये एक स्पाइनल एट्रोफीबाट प्रभावित हुन्छ । अमेरिकी औषधि विभागले दुई वर्षभन्दा कम उमेरका शिशुलाई लाग्ने स्पाइनल मस्क्युलर एट्रोफीमा थेरापीको अनुमति दिएको छ ।
एजेन्सी