
काठमाडौं – भारतको लोकसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार बनारस पुगेका छन् ।
त्यहाँको विमानस्थलमा भाजपा कार्यकर्ताले उनको भव्य स्वागत गरे । त्यसपछि मोदीले काशी विश्वनाथ मन्दिर पुगेर भगवान् शिवको पूर्जा अर्चना गरेका छन् ।
भाजपा अध्यक्ष अमित शाहसँग मिलेर उनले मन्दिरमा पूजा गरेका हुन् ।
मोदीले दीनदयाल हस्तकला संकुलमा भाषण गर्दै भने, ‘म भाजपा कार्यकर्ताहरूको आदेशको पालना गर्छु । उनीहरूको सन्तोष नै मेरो जीवनमन्त्र हो । काशीबाट चुनाव जित्ने निश्चित भएपछि म केदारनाथ मन्दिरमा गएर तपस्या गरेको थिएँ ।’
उनले थपे, ‘तपाईंहरूले थुप्रो कार्यक्रम गरेको जानकारी मैले पाएँ । यहाँ चुनावलाई तपाईंहरूले लोकोत्सव बनाउनुभयो । चुनावमा झगडा भन्दा पनि अपनत्व बढी थियो । चुनावमा अन्य दल तथा निर्दलीय उम्मेदवार पनि थिए । म उहाँहरूलाई पनि धन्यवाद दिन्छु । काशीको गरिमालाई उहाँले अभिवृद्धि गर्नुभएको छ ।’
एजेन्सी