
बुटवल- नेकपा रुपन्देहीको नयाँ नेतृत्वलाई सोमवार शपथ ग्रहण गराइएको छ ।
नेकपा रुपन्देहीको जिल्ला कमिटीमा सचिवसहित एक सय ७३ जनाले सोमवार सामूहिक सपथ ग्रहण गरेका छन् ।
अध्यक्ष शिवराज सुवेदीको भने यसअघि नै सपथ ग्रहण भइसकेको थियो । सचिव निर्मल केसीसहित जिल्ला कमिटीका सदस्यहरू एक सय ७३ जनालाई सोमवार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शपथ ग्रहण गराएका हुन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि पहिलो पटक रुपन्देही जिल्ला कमिटीको घोषणा भएको थियो । सोही कमिटीको सपथ ग्रहण समारोहमा सहभागी विभिन्न तहका नेताहरुले स्पष्ट राजनीतिक विचारका माध्यमबाट जनताको विश्वास जित्दै अगाडि बढ्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुषाल, स्थायी समितिकै अर्का सदस्य छविलाल विश्वकर्मा, प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मालगायतले सही राजनीतिक विचारका माध्यमबाट संगठनलाई सही दिशामा अगाडि बढाउन निर्देशन दिएका थिए ।
त्यसक्रममा बोल्दै महासचिव पौडेलले भ्रम, कुण्ठा, आरोप र पूर्वाग्रहका आधारमा हतारिएर धारणा बनाउँदा गलत हुने भन्दै सचेत हुन आग्रह गरे । उनले गरीबी, आर्थिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, शैक्षिक विषमता, पर्याबरणको क्षयीकरण र बेरोजगारीको चरम समस्यामा रहेको मुलुकलाई वर्तमा सरकारले योजनाबद्ध कामबाटै सुधार गर्नेतर्फ अग्रसर रहेको बताए ।
प्रत्येक मानिसमा न्याय, विवेकपूर्ण निर्णय, सुरक्षा र आत्मसम्मानको गम्भीर अनुभूति दिलाउनेतर्फ तीनै तहका सरकारहरू केन्द्रित रहेको उल्लेख गर्दै महासचिव पौडेलले सकारात्मक परिवर्तन, अहिंसा, सहिष्णुता र सद्भावको मार्गबाटै समाज रुपान्तरणको अभियान सफल बनाइने बताए ।

पार्टीका स्थायी समिति सदस्य, प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री पोखरेलले विचार र नारा मात्रै क्रान्तिकारी बनाउने तर काम भने फिटिक्कै नगर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताए । उनले ठूलो बनाएको, सरकार सञ्चालन गरेको, कार्यकर्ताको बलियो पंक्ति निर्माण गरेको व्यवहार, आचरण र जीवनशैली बदल्नका लागि भएको उल्लेख गर्दै त्यसैका माध्यमबाट समाज बदल्ने अठोटका साथ क्रियाशील बन्न आग्रह गरे ।
नकारात्मक कुराहरू मात्रै गर्ने, सुन्ने र त्यसैका आधारमा धारणा बनाउँदा अविश्वास र भ्रम सिर्जना हुने भन्दै इन्चार्ज पोखरेलले निराशा र कुण्ठामा बहकिँदा खास कार्यभार पछाडि पर्ने खतरातर्फ सचेत रहनुपर्नेमा जोड दिए ।
स्थायी समितिका सदस्य घनश्याम भुसालले विचार र कार्यशैलीमा प्रष्ट भएर अगाडि बढ्न जरुरी रहेको भन्दै जनताका समस्याको समाधानका लागि सहायक बन्न आग्रह गरे । उनले समाज बदल्ने काममा केन्द्रित हुनुपहिले आफूहरू पनि रुपान्तरित हुन जरुरी रहेको भन्दै एकता र सहकार्यका आधारमा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिए ।
स्थायी समितिका सदस्य छविलाल विश्वकर्माले चुनौती, समस्या र अन्योलताको भूमरी सिर्जना गर्ने र त्यसैका आधारमा सरकारलाई कमजोर बनाउन खोज्न तत्वहरू सक्रिय रहेको भन्दै सचेत रहन सुझाव दिए । प्रदेश कमिटीका सचिव शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर जनताका पिर मर्काका कामलाई समाधान गर्नेगरी केन्द्रित हुन आग्रह गरे ।