
काठमाडौं–आइतबार ४ जनाको ज्यान जाने गरी राजधानीमा विस्फोट भएपछि प्रतिबन्धित नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एक अर्कालाई आरोप लगाएका छन् ।
विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै घटना हुनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । घटनाको मुख्य दोषी केपी ओली सरकारको फासीवादी दमन नै मुख्य रहेको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।
तर विप्लवले आइतबार काठमाडौँमा भएको बम विस्फोटको घटनामा पार्टीबाट क्षति भएको स्वीकारेका छन् भने मृत्यु हुने आफ्ना कार्यकर्तालाई सहिद घोषणा गरेका छन् ।
विप्लवले घटनाको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि जनाएका छन् ।
विप्लवले घटनामा ज्यान गुमाउने आफ्ना कमान्डरहरू रहेको र उनीहरु महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तर रहेको जनाएका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताए । ‘बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?’ उनको प्रश्न थियो ।
प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सोधे, ‘अब के चाहियो ?’ उनले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो ।
शंकास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ
नेकपा विप्लव समूहले सोमबार आह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्चिम आठबिसकोट ४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका १२ रत्नराजमार्गबाट २ रहेका छन् ।
सवारी साधनमा आगजनी
नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् ।
जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका २ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका १ मा ना.६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका ८ मा ना.२ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका(१६ मा बा.३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका १ मा भे.७ प ४७५७ र भे.७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका ६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन् ।
यस्तै विभिन्न स्थानमा बम समेत फेला समेत गरे ।
गृहको अनुरोध
गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ । सोमबार साँझ गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेका हुन् ।
निर्दाेष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर विस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पु¥याउनेलगायतका घटना अमानवीय भन्दै मन्त्रालयले त्यसको भत्र्सनासमेत गरेको छ । कानून र शान्तिविरोधी गतिविधिमा संलग्न नहुन मन्त्रालयले सबैलाई अपिल गर्दै मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
आइतबार विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका थिए ।
विप्लव वार्ता गर्न सरकारको ध्यानाकर्षण
तिनिधिसभाको सोमबारको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी, ज्ञानकुमारी छन्त्यालले सो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
उनीहरुले मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिँदै कैलालीकी निर्मला पन्त तथा पाँचथरका एकैपरिवारको हत्याको घटनाबारे प्रभावकारी अनुसन्धान गर्न र नेत्रविक्रम चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बनाएका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभइ घटनामा संलग्नहरु नै रहेको बताए ।
मन्त्री थापाले सो घटनामा घाइते भएकाको वीर अस्पताललगायत राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी पनि दिए ।
ओलीलाई दिल्लीको निम्ता
दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले मेइ ३० को दिन राष्ट्रपति भवनमा सपगग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
उनका अनुसार सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित बिम्सटेक राष्ट्रका सबै सरकार प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । यद्यपि प्रधानमन्त्री जाने नजाने निर्णय भइसकेको छैन।
बिम्सटेक राष्ट्रमा नेपाल र भारतसहित बंगलादेश, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । गएको अगस्टमा नेपालमा विमस्टेक सम्मेलन भएको थियो ।
आर्थिक सर्वेक्षण–अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा उनले संसद्मा ‘आव २०७५÷७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हँुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरेका हुन् ।
अर्थमन्त्री डा खतिवडाले मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७०१ पुगेको जानकारी दिदैं आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ४९ अर्ब पुगेको बताउ ।
उनले यस अवधिमा वस्तु व्यापार घाटा रु आठ खर्ब ८८ अर्ब रहेको जानकारी दिए ।
मन्त्री डा खतिवडाले यस अवधिमा २१८ उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान गरेको बताए ।
उनले आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कूल जनसङ्ख्याको ७७ दशमलव ८ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको र यसै अवधिमा एक हजार १४२ मेगावट विद्युत् उत्पादन भएको तथा १८ प्रतिशत जनसङ्ख्याले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा उपभोग गरिरहेको जानकारी दिए ।
पुनर्निर्माणले गति पायो
भूकम्पछिको निजी आवास, सार्वजानिक भवन, पुुरातात्विक सम्पदा एवम् क्षतिग्रस्त सडकको पुनर्निर्माणले गति लिएको छ । निजी आवास पुनर्निर्माण अनुदान वितरणका लागि आठ लाख १८ हजार ८५१ भूूकम्पपीडितको पहिचान भई ९२ प्रतिशतले अनुदान सम्झौता गरेका र अनुदान सम्झौता गरेकामध्ये पचास प्रतिशतले घर निर्माण सम्पन्न गरेको सरकारले जारी गरेको आर्थिक सर्वेक्षण २०७५÷७६ को सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणमा भूकम्पबाट आंशिक क्षति भएका अथवा प्रबलीकरण गर्नुपर्ने निजी आवासका लागि रु एक लाख अनुदान दुई किस्तामा वितरण गर्ने व्यवस्था लागू भएको, फागुनसम्म ६३ हजार १९ प्रबलीकरण लाभग्राही पहिचान भई १८ हजार ३३० लाभग्राहीले सम्झौता गरी प्रथम किस्ताको रु ५० हजार अनुदान प्राप्त गरेको जनाइएको छ ।
निजी आवास पुनर्निर्माणको सूचीमा नपरेका भूकम्पपीडितमध्ये सूचीमा पर्न तीन लाख ६० हजार ४४३ ले गुनासो दर्ता गराएका र तीमध्ये एक लाख ९८ हजार ५९२ गुनासाको पुनरावलोकन भएको तथा गुनासो सम्बोधन गर्ने क्रममा पहिलो चरणमा एक लाख २९ हजार ४१० का निजी आवासको पुनः सर्वेक्षण र पुनः जाँच सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणमा स्थानान्तरण गर्नुपर्ने बस्तीका एक हजार ६५२ पीडितलाई आफ्नो जग्गाको व्यवस्थापन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न रु दुई लाख थप अनुदानको सुविधा उपलब्ध गराइएको र तीमध्ये ६२८ परिवारलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गरिएको छ ।
अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब
चालू आर्थिक वर्षको प्रथम आठ महीनामा रु १३ अर्ब ४९ करोड अनुदान र रु ९३ अर्ब ६९ करोड ऋण गरी रु एक खर्ब सात अर्ब १८ करोड बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।
सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा रु एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको थियो । पछिल्ला वर्षहरूमा नेपाललाई प्राप्त हुने वैदेशिक सहयोगको अंश क्रमशः घट्दै गएको छ ।
चालू आवको सोही अवधिमा अनुदान र ऋण गरी रु ५० अर्ब ८४ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको छ । अघिल्लो आवको सोही अवधिमा अनुदान र ऋण गरी रु एक खर्ब ३१ अर्ब ५५ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको थियो ।
तीन लाख सवारी साधन थप
चालू आवको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी सवारी साधन दर्तासँगै देशभरमा यिनको सङ्ख्या ३५ लाख ३९ हजार ५१९ पुगेको छ ।
सङ्घीय संसद्मा सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार देशभरमा रहेका कूल सवारी साधनमध्ये ७८ दशमलव छ प्रतिशत मोटरसाइकल छन् । विसं २०४६÷४७ देखि गत आवसम्ममा देशभरमा जम्मा ३२ लाख २१ हजार ४२ सवारी साधन दर्ता भएका थिए ।
चालू आवको शुरुदेखि अहिलेसम्म पाँच लाख ५७ हजार २९८ ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण भएको सर्वेक्षणमा उल्लेख छ । गत आवसम्ममा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण गरिएको थियो । सङ्घीय सरकारले देशभरमा रहेका यातायात व्यवस्था कार्यालय र तिनले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई
यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई पुरस्कार प्रदान गरे ।
रु ५० हजार राशिको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आइरहेको छ ।
यस्तैगरी सोही अवसरमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ चन्द्रमान श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रु २५ हजार राशिको रहेको छ ।
घूस लिएको आरोपमा पक्राउ
व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई रु ३५ हजार घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको छ ।
स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रमुखको कार्यकक्षमै घूस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।