काठमाडौं – भाजपाका पार्टी अध्यक्ष अमित शाहको मोदी सरकारमा महत्त्वपूर्ण भूमिका हुने चर्चा चलेसँगै नयाँ अध्यक्ष को हुने भनी अनुमानको खेती हुन थालेको छ ।
लोकसभा चुनावमा अमित शाहले गान्धीनगरबाट चुनाव लडेसँगै उनलाई मोदी सरकारमा वरिष्ठ मन्त्री बनाइने सम्भावनाको चर्चा भएको थियो । बिहीवार राष्ट्रपति भवनमा नयाँ सरकारको शपथ समारोह शुरू हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डलको तस्वीर स्पष्ट हुनेछ ।
शाह सरकारमा गएमा पार्टीको जिम्मेवारी छोड्नुपर्ने हुन्छ किनकि भाजपाले एक व्यक्ति एक पदको सिद्धान्तमा काम गरिरहेको छ । अमित शाह मन्त्री भएमा जेपी नड्डा वा धर्मेन्द्र प्रधानमध्ये एकलाई भाजपा अध्यक्ष बनाएने सम्भावना छ ।
तर अमित शाह पार्टीको अध्यक्ष भएपछि भाजपाको जस्तो प्रगति भएको छ, उनको ठाउँमा आउने व्यक्तिलाई त्यही स्तर कायम राख्न गाह्रो हुनेछ । शाह अध्यक्ष भएदेखि सबै क्षेत्रमा प्रभाव पार्न सफल भएका छन् । उनको नेतृत्वमा पार्टीले देशभरि भएका नगरनिगम, विधानसभा अनि लोकसभा चुनावमा कीर्तिमान प्रदर्शन गरेको छ । उनले भाजपामा सबभन्दा सफल अध्यक्ष बन्ने गौरव प्राप्त गरेका छन् ।
सूत्रहरूले जानकारी दिएअनुसार, मोदी र शाहको जोडीले भाजपा सरकारको दोस्रो कार्यकालका लागि मन्त्रीहरूको नाममा गम्भीरतापूर्वक विचार गरिरहेको छ । सरकारको ध्यान नयाँ रोजगारी सिर्जना गर्नुमा छ । सरकारले कृषि, मत्स्य, खाद्य, माइनिङ, कोइला, लघु उद्योग, टेक्सटाइल, हाउजिङ, स्टील र वाणिज्यमा ध्यान केन्द्रित गर्नेछ ।
प्रधानमन्त्री मोदीले मन्त्रिमण्डलमा समावेश हुने व्यक्तिको कार्यक्षमताको आकलन गरेर आफैं निर्णय लिनेछन् ।
एजेन्सी