०२ असार २०८३, मंगलबार

कैलाली कञ्चनपुरस्थित ठाउँ–ठाउँमा सीमा विवाद तर विवादित विषयमा प्रवेशै नगरी सकियो संयुक्त बैठक

जेठ १६, २०७६
कैलाली कञ्चनपुरस्थित ठाउँ–ठाउँमा सीमा विवाद तर विवादित विषयमा प्रवेशै नगरी सकियो संयुक्त बैठक

धनगढी- सुदूरपश्चिमको कैलाली कञ्चनपुर जिल्लास्थित नेपाल-भारत सीमा क्षेत्रमा देखिएको सीमा विवादमा प्रवेशै नगरी २ देशीय संयुक्त बैठक सकिएको छ ।

बेलाबखत भारतीय पक्षले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरेको विवादित ट्रन्चलगायतको विषयवस्तुमा प्रवेश नगरी २ देशीय संयुक्त वैठक विहिबार धनगढीमा सकिएको हो ।

केही महिनाअघि भारतीय पक्षले कञ्चनपुरको पुनर्वास र कैलालीको कैलारी गाउँपालिकास्थित सीमा क्षेत्रमा गरी करिब ६ किलोमिटर बढी ट्रेन्च एकलौटी रुपमा खनेको छ । जसले गर्दा नेपाली भूमी डुबानको सम्भावना बढेको बताइएको छ । तर बैठक भने सो विषयवस्तुमा प्रवेशै नगरी सकिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संयुक्त सीमा सर्वे टोलीको बैठक सीमा स्तम्भमा मात्रै केन्द्रित रहेकोले सो विषयमा प्रवेश नगरिएको बताए । भारत लखिमपुर खिरीका डिएम शैलेन्द्र कुमार सिंहले आफुहरु आम निर्वाचनमा केन्द्रित रहेकोले विवादवारे जानकारी पाएको बताए । केही समस्या तथा विवाद भए आपसमा बसेर सुझाउँदै आएको बताउँदै उनले आफ्नो तहबाट कार्यान्वयनको जिम्मवारी मात्रै रहेको उल्लेख गरे । तर विवादको समाधान भने नीति निर्माण तहको छलफलबाट मात्रै टुंगिने डिएम सिंहले बताए ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, भारतको लखिमपुर खिरीका डिएम शैलेन्द्र कुमार सिंह, २ देशका सुरक्षा अधिकारी, सीमा सर्वे टोलीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैबीच नेपाल भारत सीमा सर्वे टोली नम्बर ४ का प्रमुख जनक जोशीले कैलाली कञ्चनपुर जिल्लास्थित पर्ने ५९ वटा नयाँ सीमा स्तम्भ निर्माण र १ सय वटाको मर्मत सम्भार गरिएको जानकारी दिए । जसमा ८ वटा मूख्य स्तम्भ र ४१ वटा सहायक सीमा स्तम्भ निर्माण भएका हुन् । कैलाली जिल्लास्थित नेपाल भारत सीमामा २८२ सीमा स्तम्भ र कञ्चनपुरस्थित नेपाल भारत सीमामा ३८० सीमा स्तम्भ रहेका छन् ।

सीमा स्तम्भको जोर नम्बरको निर्माण भारतीय पक्षले र बिजोर नम्बरका स्तम्भको निर्माण र मर्मतको काम नेपाली पक्षबाट हुँदै आएको छ ।

त्यस्तै, कैलाली कञ्चनपुर जिल्लास्थित ३ वटा सीमा क्षेत्रमा विवाद कायमै रहेको छ । कैलालीको ७४२ नम्बर स्तम्भ निर्माणमा विवाद हुँदा निर्माण कार्य रोकिएको जनाइएको छ । फूलवारी क्षेत्रमा मात्रै ६ वटा स्तम्भ निर्माणमा विवाद रहेको टोली प्रमुख जोशीले जनाए ।

त्यस्तै, कैलालीकै खक्रौलामा पनि विवादले गर्दा ७०४/५ नम्बर सीमा स्तम्भ निर्माण हुन सकेको छैन । कञ्चनपुरको पुनर्वास क्षेत्रको ७ सय ६२ नम्बर स्तम्भ राख्नमा पनि विवाद सिर्जना हुँदा निर्माण हुन सकेको छैन । अधिकांश विवाद नेपाली पक्षबाट हुँदै आएको सीमा सर्वे टोलीको ठहर छ ।

केही स्थानमा विवादले गर्दा निर्माण हुन नसकेपनि विवादित मानिएको कैलालीको भजनी नगरपालिकाको मरियाघाट क्षेत्रस्थित ७०७/१, ७०७/२, ७०७/३, ७०७/४ नम्बर सीमा स्तम्भ निर्माण् गरिएको छ । स्थानीयबासीलाई सम्झाई बुझाई गरी निर्माण गरिएको सर्वे टोली प्रमुख जोशीको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्