
बाँके – प्रदेश नम्बर ५ मा २ हप्तामै लागूऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये ४ महिला रहेको बिहीवार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागूऔषध बुलेटिनमा जनाइएको छ ।
तथ्यांकअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागूऔषधसमेत बरामद भएको छ । ४ हजार ९ सय २७ ग्राम गाँजा, ९ हजार ८ सय ५६ दशमलव ७ ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ ।
डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ ।
लागूऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नम्बर ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागूऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताए ।
‘खुला सीमानाका कारण लागूऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ,’ उनले भने । उनले बुलेटिनमा आएको तथ्यांकले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागूऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औंल्याए । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागूऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागूऔषधविरुद्धको अभियान सफल हुने कुरामा जोड दिए ।