![कति बढ्यो शिक्षकको तलब ? दर्जा अनुसार फरक–फरक ! [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/teacher_9osWIhs4b1.png)
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि गरेको छ ।
प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरिएको छ ।
सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।
प्राथमिक तह तृतीय दर्जाको तलब २२ हजार १ सय ७० रुपैयाँ रहेकोमा २० प्रतिशत बढेर आगामी साउनदेखि तलब २६ हजार ६ सय ४ रुपैयाँ कायम भएको छ ।
प्रावि द्वितीय दर्जाको साविकको तलब २३ हजार ५ सय रुपैयाँमा २० प्रतिशत वृद्धि भई २८ हजार २ सय रुपैयाँ र प्रथम दर्जाको साविकको तलब ३० हजार ५ सय रुपैयाँमा १८ प्रतिशत वृद्धि भई ३५ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।
निम्न माध्यमिक तह तृतीय दर्जाको साविकको तलब २३ हजार ५ सय रुपैयाँमा २० प्रतिशत बढेर २८ हजार २ सय रुपैयाँ, द्वितीय दर्जाको साविककोे तलब ३० हजार ५ सय रुपैयाँमा १८ प्रतिशतले वृद्धि भई ३५ हजार ९ सय ९० रुपैयाँ र प्रथम दर्जाको साविकको तलब ३२ हजार १ सय रुपैयाँमा १८ प्रतिशतले वृद्धि भई ३७ हजार ८ सय ७८ रुपैयाँ भएको छ ।
माध्यमिक तह तृतीय दर्जाको साविकको तलब ३० हजार ५ सय रुपैयाँमा १८ प्रतिशतले वृद्धि भई ३५ हजार ९ सय ९० रुपैयाँ, द्वितीय दर्जाको साविकको तलब ३४ हजार २ सय २० रुपैयाँमा १८ प्रतिशत बढेर ४० हजार ३ सय ७९ र प्रथम दर्जाको साविकको तलब ४० हजार १ सय ५० रुपैयाँमा १८ प्रतिशत वृद्धि भई ४७ हजार ३ सय ७७ रुपैयाँ पुगेको छ ।
हाल शिक्षाको संरचना आधारभूत र मावि तह मात्रै भएपनि तलबको हिसाबकिताब पूरानै तह र दर्जा अनुसार हुने गरेको छ । प्रावि, निमावि र मावि तहमा प्रथम, द्वितीय र तृतीय गरी २ दर्जा हुने गरेका छन् ।