
काठमाडौं – अवैध रूपमा भीओआईपी (कल बाइपास) सञ्चालन गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाडौंबाट खटिएको प्रहरीले अवैध भीओआईपी सञ्चालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका– ३ काटा गाउँ भन्ने ठाउँमा डेरा गरी बस्ने भारत महराजगन्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षका खुर्सेद अन्सारीलाई बिहीवार पक्राउ गरेको हो ।
अन्सारीको डेराबाट प्रहरीले ल्यापटप १ थान, जेएससी लेखिएको एरियल ३२ थान, राउटर १ थान, एयर टेल फोरजी लेखिएको डिभाइस २ थान, टिपिलिंक लेखिएको राउटर १ थान, युपीएस १ थान, चार्जर २ थान, १३ वटा सिम फिट भएको १६ सिम पोर्ट १ थान, सिम नभएको १६ सिम पोट १ थान, केबल तार २ थान, सिम १३ थान लाभा कम्पनीको मोबाइल १ थान र सोमा फिट भएको ९८१७४२३४०४ र नम्बर नखुलेको भारतीय सिम १ थान समेत बरामद गरेको छ ।
पक्राउ अन्सारी उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
हालसम्म १ सय ६७ जना पक्राउ
अवैध भीओआईपी विरुद्ध व्यूरोले स्थापनकालदेखि हालसम्म १ सय ८ स्थानमा भएको कारवाहीमा नेपाली १ सय ३० र विदेशी ३७ गरी १ सय ६७ जनालाई पक्राउ गरेको छ ।
अवैध भीओआईपीविरुद्ध गरिएको कारवाहीमा हालसम्म विभिन्न दूरसञ्चार कम्पनीका २ हजार ३ सय ७५ थान सिम कार्ड र भीओआईपीमा प्रयोग हुने आधुनिक उपकरणहरू समेत बरामद गरिएको सो ब्यूरोले जनाएको छ ।