
काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समान समयावधीका आधारमा सरकार आलोपालो गरेर चलाउने सहमति भएको खुलासा गरेपछि दिल्लीमा रहेका नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीले यो कुनै नयाँ विषय नरहेको प्रतिक्रिया दिएका छन् ।
आलोपालो सरकार चलाउने विषयमा गरिएको सहमति गोप्य नरहेको ओलीले सञ्चारकर्मीसँग बताएका छन् । 'पत्र कहिले गोप्य थियो र ? पत्र उहिले नै सार्वजनिक भएको हो,' ओलीले भने, 'यो विषयलाई अहिले उछालेका छन् । के भनौ र ? अनावश्यक विषय उछाल्ने नेपाली चरित्र नै हो ।'
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीको जिज्ञासामा पहिल्यै सहमति भइसकेको भन्दै प्रचण्डले सार्वजनिक गरेको अभिव्यक्तिलाई सहजीकरण गरिदिएका छन् ।
प्रधानमन्त्री ओलीले उनले ठट्टा गर्दै आफ्नो कार्यकाल एक वर्ष नभएको बरू ४-५ दिन मात्र रहेको पनि बताए । 'एक वर्ष है, चार-पाँच दिन मात्रै बाँकी छ, अब म के भनौं ?' ओलीको प्रतिप्रश्न थियो ।