
एजेन्सी- क्रिकेट विश्वकप इंग्ल्याण्डमा जारी छ । विश्वकपमा रन र शतकको चर्चा त हुने नै भयो ।
जारी विश्वकपमा हालसम्म कुनै पनि शतक बनेको छैन । तर अन्त्यसम्ममा केही शतक बन्नेनै छ । हालसम्म विश्वकपमा ११ औं संस्करण भइसक्यो । १२ औं संस्करण इंग्ल्याण्डमा जारी छ । सन् १९७५ देखि २०१५ सम्ममा विश्वकपमा १६५ वटा शतक बनेका छन् । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले विश्वकपमा सबैभन्दा बढी शतक प्रहार गरेका छन् । उनको नाममा ६ वटा शतक छ । यस्तै अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ र श्रीलंकाका कुमार सांगाकाराको नाममा समान पाँच/पाँच शतक छन् ।
अब कुरा गरौं, विश्वकपमा अहिलेसम्म सर्वाधिक शतक हान्नेहरूको ।
सचिन तेन्दुलकर
भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सय शतक प्रहार गरेका छन् । त्यस्तै उनले विश्वकपमा ६ शतक हानेका छन् । सचिनले आफ्नो पहिलो विश्वकप शतक सन् १९९६ मा प्रहार गरेका थिए ।
त्यस्तै उनले विश्वकपमा दोस्रो शतक सन् १९९६ मा नै श्रीलंकाविरुद्ध हानेका थिए । दिल्लीमा खेलाइएको खेलमा उनले १३७ बलमा १३७ रननै बनाएका थिए । सचिनले आफ्नो तेस्रो विश्वकप शतक १९९९ मा चौथो २००३ मा नामिबियाविरुद्ध, पाँचौ शतक सन् २०११ मा इंग्ल्याण्डविरुद्ध र छैटौं शतक सन् २०११ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएका थिए ।
कुमार सांगाकारा
यस सूचीको दोस्रो नम्बरमा आउँछन्- श्रीलंकाका कुमार सांगाकारा । उनले र अस्ट्रेलियाका रिकी पोन्टिङले विश्वकपमा पाँच-पाँच वटा शतक हानेका छन् ।
कुमार सांगाकाराले विश्वकपमा आफ्नो पहिलो शतक सन् २०११ मा न्यूजील्याण्डविरुद्ध हानेका थिए । त्यसबेला उनले १२८ बलमा १११ रन हानेका थिए ।
दोस्रो शतक सन् २०१५ मा बंगलादेशविरुद्ध प्रहार गरेका थिए । त्यसबेला उनले ७६ बलमा नटआउट १०५ रन बनाएका थिए ।
तेस्रो शतक उनले सन् २०१५ मा इंग्ल्याण्डविरुद्ध बनाएका थिए । ८६ बलको सामना गरेका उनले नटआउट ११७ रन बनाएका थिए ।
उनले चौथो र पाँचौ शतक पनि सन् २०१५ मै बनाएका थिए । अस्ट्रेलियाविरुद्ध १०४ तथा स्कटल्याण्डविरुद्ध सांगाकाराले १२४ रन बनाएका थिए ।
रिकी पोन्टिङ
अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले विश्वकपमा ५ शतक लगाएका छन् ।
सन् १९९६ मा उनले वेस्ट इन्डिजविरुद्ध १०२ रन बनाएका थिए । त्यस्तै सन् २००३ मा श्रीलंकाविरुद्ध ११४ रन बनाएका थिए ।
सन् २००३ मै भारतविरुद्ध नटआउट १४० रन बनाएका थिए ।
सन् २०११ मा उनले भारतविरुद्ध नै १०४ को शतकीय पारी खेलेका थिए ।
यसबाहेक विश्वकपमा भारतीय पूर्वकप्तान सौरभ गांगुली, दक्षिण अफ्रिकाका एबी डी विलियर्स र स्टिभ स्मिथले पनि समान चार/चार शतक प्रहार गरेका छन् ।