
बुटवल- नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा सरकार परिवर्तनको संकेत देखिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ५ बुँदे सहमति बाहिर ल्याउनु सरकार परिवर्तनको संकेत भएको उनको दाबी छ ।
बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कारमा बोल्दै कांग्रेस नेता सिंहले भने, ‘यो प्रधानमन्त्रीसँग डिल नगर, अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाई दिएका हुन् ।’
सिंहले ओलीको भारत भ्रमण निराशाजनक भएको समेत प्रष्ट पारे । सिंहले भने, ‘उहासँग फर्केपछि भेट त भएको छैन, ओलीजीको बडिल्याङ्वेज हेर्दा अनुहार मलिन छ । अघिपछिको जस्तो देखिएन ।’ भारत लोकतान्त्रिक मुलुक भएकाले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने उनको दाबी छ तर अहिलेका प्रधानमन्त्री संघीयता असफल बनाउने र शक्ति आफैंमा केन्द्रित गर्ने खेलमा लागेको उनको भनाइ थियो ।
सिंहले ५ वर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने दाबी गरे । ‘ओली र राष्ट्रपति मिलेर शासन गर्न खोजेका छन । हरेक गाउँपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ । नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन् ।’ विदेशी कूटनीतिबारे जानकार रहेका सिंहले सरकारको परराष्ट्र नीति नै गतल भएको बताए ।
लोकतन्त्र र कम्युनिष्ट सरकार सगँसँगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको दाबी गरे । प्रधानमन्त्रीले आफैंमा शक्ति सञ्चय गर्ने, संसद, सरकार र न्यायलय, सेना, प्रेसलाई आफू मातहत राख्न खोज्ने, एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजेको उनले आरोप छ । संविधान सहमतिको दस्तावेज भएको बताउँदै सरकारले संघीयतालाई कमजोर बनाउन खोजेको आरोप सिंहले लगाए ।