काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् ।
शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. लोहनीले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेको बजेटमा खर्च वृद्धि भएको छ । यो बजेटले खर्चलाई काबुमा राख्न सकेको छैन । बजेटमा आम्दानीको कुरा जो छ, त्यो बढेको छैन । लगानी वृद्धि हुन सकेको छैन ।’
बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । उनले भने, ‘अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ ।’
उनले वर्षभरिको राजश्वको आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उनको दाबी छ ।
लोहनीले बजेटले मुलुकका मूल समस्याहरूलाई सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले भने, ‘अहिले राजश्व दुरुपयोग भइरहेको छ । भ्रष्टाचार दिनदिनै बढिरहेको छ । आर्थिक अनुशासन छैन । यी सबै कुरालाई नियन्त्रण गर्ने लक्षण देखिएन ।’
सरकारले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर दाबी गरेपनि व्यवहारमा त्यो नदेखिएको उनको टिप्पणी छ । उनले भने, ‘वाइडबडी जहाजमा ५ अर्बको भ्रष्टाचार भएको छ । तर सरकारले अहिलेसम्म जाँचबुझ आयोग बनाएर अलमलाउने काम गरेको छ । यसबाट पनि देखिन्छ कि सरकारले भ्रष्टाचारमा कति शून्य सहनशीलता अपनाएको छ भनेर ?’