
बुटवल- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताका चौतर्फी अधिकार खोसिरहेको आरोप लगाएका छन् ।
कांग्रेस रूपन्देहीको प्रथम सम्मेलनको शनिवार रूपन्देहीको तिलोत्तमा– १५ मधौलियामा उद्घाटन गर्दै सभापति देउवाले अहिलेको सरकारले प्रेस, न्यायपालिका र मानवअधिकार आयोग समेतलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका हुन् ।
देउवाले भने, ‘ओली सरकारले जताका चातर्फी अधिकार खोसिरहेको छ । लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि काम कांग्रेसलाई मान्य हुँदैन । हाम्रो पार्टीले सहन सक्दैन ।' पूर्वप्रधानमन्त्री देउवाले स्वतन्त्र रूपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया विधेयक ल्याएको बताए । उनले पार्टी एक भएर अघि बढ्नुको विकल्प नभएको बताउँदै रुपन्देहीबाटै त्यसको शुरूआत गर्न आग्रह गरे ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारबाट अब जनताले अपेक्षा गर्ने कुनै ठाउँ नरहेको बताए । उनले पार्टीका सबै नेता कार्यकर्ता मिलेर कम्युनिष्ट सर्वसत्तावाद आउन नदिन र आगामी निर्वाचमा कांग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकको संविधानको रक्षा, राष्टियताको संरक्षण र विकासका लागि ओली नेतृत्वबाट मुक्त गर्नुपर्ने बताए ।