
काडमाडौं–समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताएका छन् ।
पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले उदासिनता देखाएको बताए ।
सङ्घीय परिषद्का अध्यक्षसमेत रहेका डा भट्टराईले कम्युनिष्ट र काङ्ग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढेको बताउँदै सरकारसँग अहिलेसम्म भएका सम्झौता पालना गर्नुपर्ने धारणा राखे ।
त्यस्तै अर्का अध्यक्ष एवम् उपप्रधानमन्त्री यादवले भने, “संविधान संशोधन गर्न प्रधानमन्त्रीले लिखित सम्झौता नै गर्नुभएको छ । तर उहाँ सम्झौताविपरीत अघि बढिरहनुभएको छ । हामी अन्तिमपटक उहाँलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छौ, त्यसो नभए सरकार छाडेर आन्दोलनमा जानुको विकल्प छैन ।” संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएकाले तत्काल सहमति कार्यान्वयन गर्न यादवले माग गरे ।
भारतीय विदेशमन्त्रीलाई बधाई
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करलाई बधाई तथा शुभकामना दिएका छन् ।
सभापति देउवाले एक पत्रमार्फत एस जयशङ्करलाई भारतको विदेशमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन् । एस जयशङ्करले भारतको वैदेशिक सेवामा गरेको लामो अनुभव र योगदानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बाह्य मामिला सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उच्च सफलता मिल्ने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गरेका छन् ।
कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदका रुपमा निर्वाचित भएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुगेकामा फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो ।
उनको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, “रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।”
रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराए ।
सरकार तानाशाही बन्न खोजेको देउवाको आरोप
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन् ।
नेपाली काङ्ग्रेस रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गरे ।
उपराष्ट्रपति स्वदेश फिर्ता
उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ शनिबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत अभिवादन गरे । उपराष्ट्रपति पुनको स्वागतका लागि नेपाल सरकारका उच्च पदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । सो अवसरमा उपराष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।
अष्ट्रियामा रहँदा उपराष्ट्रपति पुनले त्यहाँका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै इन्सब्रुकमा आयोजित सगरमाथा दिवस कार्यक्रममा सहभागी भएका थिए ।
सो सम्मेलनमा सहभागी हुन उनी यही जेठ १२ गते त्यसतर्फ गएका थिए ।
नेपालमा बन्दै विश्वकै लामो केबलकार
धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।
कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिए ।
प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उनले बताए ।
अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने बताउँर्दै इन्जिनियर त्वनाबासुले डीपीआर निर्माण कार्य सम्पन्न भएको छ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) हुने जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
धर्मको सार मानवमानवबीच भ्रातृत्व
हिन्दूधर्मका ज्ञाता तथा विद्घानले सबै धर्मको सार मानवमानवबीचको समानता तथा भ्रातृत्व भएको बताएका छन् ।
नेपाल गृहस्थ धर्म सेवा सदनले आयोजना गरेको बृहत् धर्मसभामा उनीहरुले संसारमा हिन्दूधर्मको उद्गम अगाडि मानिसमा कुनै जातजातिका रुपमा भेदभाव नरहेको र बेद तथा धर्म शास्त्रले पनि कुनै व्यक्तिलाई नीचका रुपमा व्याख्या नगरिएको बताउँदै सनातन हिन्दूसंस्कारसँगै पछि मात्र जातजाति तथा वर्णाश्रमको विकास भएको बताए ।
५००० वर्षअघि ऋषिले धर्मको सिर्जना गरेको र त्यसबेला उनीहरुको पवित्र भावना दुनियाँमा कसैलाई दुःख नहोस् तथा सबै मानवजातिको कल्याण होस् भन्ने भावना रहेको जानकारी दिइयो ।
सो अवसरमा विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले मानव जीवनमा मानवता, शान्ति, सहकार्य तथा सद्भावको जरुरी रहेको बताउँदै यो विनामानव समाज सफल नहुने बताए ।
नेकपा काठमाडाैं जिल्ला कमिटीको शपथ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काठमाडाँै जिल्ला सङ्गठन कमिटीका सदस्यलाई शनिबार शपथग्रहण गराइएको छ ।
पार्टी मुख्यालय धूम्रवाराहीमा आयोजित कार्यक्रममा नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले शपथग्रहण गराएकी हुन् । उनले पार्टीको तल्लो तहमा एकीकरण गर्न ढिलाइले जिल्ला कमिटीले पनि पूर्णता पाउन ढिलाइ भएको बताइन् ।
कूल २२५ जिल्ला कमिटी सदस्यले शपथ खाएकामा पूर्व नेकपा (एमाले) बाट १३८ र पूर्व नेकपा (माओवादी केन्द्र) बाट ८७ रहेका छन् ।
डुबेर दुई विद्यार्थीको मृत्यु
खोटाङको लफ्याङ र मात्तिमको सिमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकैको दहमा डुबेर दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको हो ।
शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र खाल्लेकै अन्दाजी १९ वर्षीय विक्रम भट्टराईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।