काठमाडौं – न्युजील्यान्डका पूर्वकप्तान ब्रान्डन म्याककलमले क्रिकेट विश्वकपका लगभग सबै म्याचको परिणामको भविष्यवाणी गरेका छन् ।
रमाइलो कुरा त, उनको भविष्यवाणी सही साबित भइरहेको छ ।
उनले भनेअनुसार नै इंग्ल्यान्ड, अस्ट्रेलिया, वेस्ट इन्डीज र न्युजील्यान्ड विजयी भएका छन् ।
म्याककलमले इंग्ल्यान्ड, अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुग्ने बताएका छन् । चौथो स्थानका लागि भने न्युजील्यान्ड, वेस्ट इन्डीज, दक्षिण अफ्रिका र पाकिस्तान भिड्ने उनको भनाइ छ । राम्रो रन रेट हुने टीम चौथो स्थानमा पुग्ने उनी बताउँछन् ।
भारतलाई इंग्ल्यान्डले मात्र चुनौती दिन सक्ने म्याककलम बताउँछन् । उनको भविष्यवाणीलाई अस्ट्रेलियाका पूर्व ओपनर मार्क वाले समर्थन गरेका छन् ।
म्याककलमले इंग्ल्यान्ड यस प्रतियोगिताको दाबेदार भएको र उसले नौ लीग म्याचमध्ये आठमा जीत हासिल गर्ने बताए । उसलाई अस्ट्रेलियाले मात्र हराउने उनको भनाइ छ ।
अस्ट्रेलियाले चाहिँ विश्वकपमा तीनवटा टीमले हराउने उनी बताउँछन् । ती तीन टीम वेस्ट इन्डीज, भारत र पाकिस्तान हुन् ।
म्याककलमले अफगानिस्तान विश्वकपमा दुई खेल मात्र जित्न सफल हुने बताए । उनका अनुसार, अफगानिस्तानले बंगलादेश र श्रीलंकालाई हराउनेछ । यसरी हेर्दा विश्वकपमा बंगलादेश र श्रीलंका पुछारमा रहनेछन् ।
एजेन्सी