
सुर्खेत- उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कर्णाली प्रदेशलाई उपेक्षामा पारिएको बताएका छन् । यादवले कर्णालीका नेताहरु कर्णालीकै जनताबाट मत पाएर जित्ने अनि काठमाडौं गएपछि हराउने, आफ्नो जमिनलाई बिर्सने प्रवृत्ति रहेको समेत आरोप लगाए ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेताका यही प्रवृत्तिकै कारण यो क्षेत्र अत्यन्त पिछडिएको बताए । यादवले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको एकता सबै समुदाय र भूगोललाई समेट्ने कार्य भएको बताएका छन् । विगतका पार्टी एकताभन्दा नयाँशक्ति र संघीय समाजवादी फोरमबीचको एकता उदाहरणीय भएको भन्दै उनले अब राष्ट्रिय एकता बलियो बनाउन एकिकृत पार्टीले संघर्ष गर्ने बताए ।
‘अहिलेको हामी पार्टीबीचको एकता समावेशिताको उदाहरण हो,’ अध्यक्ष यादवले भने, ‘देशमा अन्याय र असमानता अन्त्य गर्न समाजवादी पार्टीले संघर्ष गर्छ ।’ उपप्रधानमन्त्री यादवले संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको बताएका छन् । ‘आफ्नै स्रोतसाधन परिचालन गर्ने अधिकार संघीय सरकारले नदिनु यसैको परिणाम हो बजेट खर्च हुन नसक्नु,’ उनले भने, ‘प्रदेशको काम गर्ने आफ्नै इकाई नहुँदा प्रदेशले काम गर्न सकेन ।’
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भौगोलिक, सामुदायिक र लैङ्गिक समावेशितका दृष्टिकोणले नयाँशक्ति र संघीय समाजवादी फोरमबीचको एकता फरक चित्रका रुपमा उजागर भएको बताएका छन् । ‘यसअघिका कुनैपनि पार्टीले भूगोल, समुदाय, लैङ्गिक समावेशितालाई ख्याल गरेनन्,’ उनले भने, ‘अहिलेको आफूहरूको एकता यसको उदाहरण हो ।’ भ्रष्टाचार अन्त्य गरेर देशमा सुशासन कायम गर्ने समाजवादी पार्टीको अभियान हुने उनले बताए । उनले वर्तमान सरकारबाट पनि विकास र समृद्धिको कुनै सम्भावना नरहेको टिप्पणी गरेका छन् ।