०४ साउन २०८३, सोमबार

नेकपा सचिवालय बैठकअघि जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची तयार

नेकपा सचिवालय बैठकअघि जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची तयार

काठमाडौं – पछिल्लो समयमा शीर्ष नेताबीच बढेको विवाद हल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूबीच मंगलवार बालुवाटारमा छलफल भएको छ ।

छलफल पार्टीभित्र पछिल्लो समयमा देखिएको ‘आलोपालो’ विवादसँगै जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची तयार गर्नेबारे केन्द्रित रहेको स्रोतले बतायो ।

मंगलवारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी थिए । बैठकमा महासचिव विष्णु पौडेल ढिलो गरी सहभागी भएका थिए । 

छलफलमा लामो समयसम्म स्थगित रहेको सचिवालय बैठक मंगलवारै दिउँसो ३ बजे बस्ने तय गरिएको छ । सचिवालय बैठकले शीर्ष नेताहरूबीच भएको सहमतिलाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ । लामो समयसम्म सचिवालय बैठक बस्न नसक्दा पार्टी एकताका कतिपय कामहरू अलपत्र रहेका थिए । 

आकांक्षीहरूको सूची लामो रहेपछि पोलिटब्यूरो गठन प्रक्रिया अझै अगाडि धकेलिने भएको छ । ‘पोलिटब्यूरो गठनमा अझै धेरै छलफल गर्नुपर्ने छ,’ एक सचिवालय सदस्यले लोकान्तरलाई भने, ‘आज बस्ने सचिवालय बैठकले पोलिटब्यूरो गठन सम्बन्धमा निर्णय गर्ने सम्भावना कम छ । हामी जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी टुंग्याउने गृहकार्य गरिरहेका छौं ।’

जेठ २५ गतेदेखि प्रधानमन्त्री युरोप भ्रमणमा जाने भएपछि नेकपाभित्र सचिवालय बैठक बस्न दबाब परेको हो । यसअघि पटक–पटक स्थगित भएको सचिवालय बैठक मंगलवार बस्ने भएपछि पार्टी एकताका कतिपय महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने बताइएको छ । 

गृहकार्य नपुगेर सचिवालय बैठक स्थगित भएको भनिएपनि नेकपाभित्र शीर्ष नेताहरूबीच बढेको विवादका कारणले बैठक बस्न सकेको थिएन । पार्टीभित्र महत्त्वपूर्ण विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा पेचिलो बहस चलिरहेको छ । 

कमेन्ट गर्नुहोस्