२३ असार २०८३, मंगलबार

समृद्ध नेपाल निर्माणका लागि बजेटमा संरचनात्मक परिवर्तन जरुरी : विनोद चौधरी

समृद्ध नेपाल निर्माणका लागि बजेटमा संरचनात्मक परिवर्तन जरुरी : विनोद चौधरी
फाइल फोटो

काठमाडौं– नेपालका प्रतिष्ठित उद्यमी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउनका लागि बजेटमा संरचनात्मक परिवर्तनको खाँचो औंल्याएका छन् । 

प्रतिनिधिसभामा मंगलवार आर्थिक वर्ष २०७६/०७७ को बजेट माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले गतिशील अर्थतन्त्रका लागि ६० प्रतिशत विकास खर्चमा छुट्याउनु गतिशील अर्थतन्त्रको पूर्वशर्त रहेको बताएका हुन् । 

‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउनका लागि बजेट जुन प्रकारको स्टक्चरमा हुनुपर्ने हो, त्यसमा फण्डामेन्टल चेन्जको आवश्यकता छ । गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालू खर्च बढीमा ४० प्रतिशत हुनुपर्ने न्यूनतम पूर्वशर्त हो,’ सांसद चौधरीले संसदमा भने, ‘तर हाम्रो परिस्थिति फरक छ, चालु खर्चको मात्रा ६६ प्रतिशत पुग्ने निश्चित छ, विकास खर्च २३ प्रतिशतभन्दा माथि जाने स्थिति छैन ।’ 

देशका स्थानीय सरकारमा समेत राष्ट्रले धान्न नसकिने खर्च तथा सुरक्षा निकायमा बढ्दो मागको सम्मीश्रणका कारण राजश्वले चालू खर्चलाई भ्याउन नसक्ने उनले चिन्ता व्यक्त गरे । 

‘देश डरलाग्दो दुश्चक्रमा फसेको छ, विकास र दिगो भौतिक संरचना गर्नुको सट्टा उपभोक्तावादमा खर्च गर्ने प्रवृत्ति बढ्दो छ,’ चौधरीले भने । 

उद्यमी चौधरीले ५ वर्षको निर्यातको तस्वीर हेर्दा ९१ अर्बबाट घटेर ८० अर्बमा झरेको अवस्था चिन्ताजनक भएको बताए । ‘आगामी दिनमा अझ कठिन परिस्थितिको निर्माण हुने निश्चित छ । आत्मनिर्भर अर्थतन्त्रको चाहनाका लागि राष्टले नयाँ एरिया खोजेर स्रोतलाई त्यसतर्फ बढ्न जरुरी छ,’ चौधरीले भने । 

राज्यले लगानीका लागि वातावरण बनाएमा आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अगाडि बढ्न सकिने उनले बताए । ‘सरकारले सिमेन्टका खानीमा बाटो र बत्ती पुर्‍याएका कारण सिमेन्ट उत्पादनमा हामी आत्मनिर्भर बन्न सक्यौं,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्