
बुटवल – बुटवलका ऐतिहासिक तथा पर्यटकीय क्षेत्र र सबै बस्तीलाई सडक सञ्जालमा जोड्ने गरी बुटवल उपमहानगरपालिकाले चक्रपथ दशैंअघि नै निर्माण पूरा हुने भएको छ ।
उपमहानगरका १९ वटै वडा र छिमेकका अरु स्थानीय तह समेतलाई सञ्जालमा जोड्ने गरी वाइपास सहितको चक्रपथ निर्माण भइरहेको छ ।
आउँदो दशैंसम्ममा नगर बस सञ्चालन गर्ने गरी चक्रपथ निर्माणको काम चलिरहेको छ । उपमहानगरका १९ वटै वडामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने, सबै बस्तीलाई शहरसँग जोड्ने तयारी स्वरुप चक्रपथ निर्माण थालिएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।
चक्रपथलाई बुद्धबल्लीको जितगढी हुँदै लुम्बिनी र विमानस्थलसम्मका सिधा सडकसँग समेत जोड्ने र आन्तरिक वाइपासलाई पनि यहीँ सडक सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको प्रमुख सुवेदीले बताए ।
बस्ती तथा बजार क्षेत्र र खुला क्षेत्रलाई जोड्दै निर्माण भइरहेको चक्रपथले बुटवलका पार्क, खुला चौर, शैक्षिक क्षेत्र, अस्पताल तथा स्वास्थ्य संस्था, कृषि फार्म, औद्योगिक क्षेत्र, बैंकिङ क्षेत्र, खेलमैदान, सामुदायिक तथा साझेदारी वन र नदी तटका बस्तीलाई सञ्जालमा जोड्ने गरी निर्माण भइरहेको प्रमुख सुवेदीले बताए । यसका अतिरिक्त केही स्थानमा हरियाली सहितको पदमार्गसमेत बनाइने छ ।
४० किलोमिटर लम्बाईको चक्रपथले ऐतिहासिक सम्पदा बुटवल जितगढी किल्ला, पुरातात्विक शहरका रुपमा विकास गर्न लागिएको पुरानो बुटवल हुँदै तिनाउ र दानव वारीपारीका सबै क्षेत्रलाई सडक सञ्जालमा जोड्ने छ ।
गोलपार्कबाट शुरू हुने चक्रपथले पुरातात्विक शहरका रुपमा संरक्षण भइरहेको पारी बुटवल हुँदै ऐतिहासिक मणिमुकुन्द सेन उद्यान क्षेत्र, जितगढी हुँदै चुरेको फेदीबाट जवई मैदानसम्म पुग्ने छ । गोलपार्क पुलचोकमा नयाँ पक्की पुल निर्माण कार्य पूरा भइसकेको छ भने त्यसबीचमा पर्ने विभिन्न ठाउँमा कल्भर्ट निर्माण भइसकेका छन् । जवाई मैदानलाई बुटवलले प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाइरहेको छ ।
जवई खेल मैदानमा पुगेको चक्रपथलाई मिलनपार्क हुँदै बुटवल ग्लोबल पीसपार्कसम्म पुर्याइने छ । यी दुबै यहाँका शान्ति र मनोरञ्जनका महत्त्वपूर्ण क्षेत्रका रुपमा विकास भएका पार्कहरू हुन् । मिलनपार्कलाई उपमहानगरकै नमूना पार्क बनाउने गरी काम भइरहेको वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुवेदीले बताए ।
पीसपार्कबाट अगाडि बढेको सडक सोइलहार, सैनामैना नगरपालिकाको सिमाना कर्साघाट हुँदै रतनपुर, डहरगाउँबाट ऐतिहासिक नरैनापुर धाम क्षेत्रमा पुग्ने छ । कर्साघाटमा पुल निर्माणको काम चलिरहेको छ भने सोही ठाउँमा बुटवल उपमहानगर र सैनामैनालाई जोडेर केन्द्रीय स्तरको कृषि उपज केन्द्र बनाउने तयारी स्वरुप डीपीआर बनिरहेको छ ।
नरैनापुरलाई बुद्धबलीको (बुद्ध खेल्ने, डुल्ने र हिँड्ने ठाउँ) महत्त्वपूर्ण ठाउँ र पशुपतिनाथभन्दा पनि पुरानो धामका रुपमा लिइन्छ । यहाँ धाममा अध्यय्न केन्द्र सहितको भ्यू टावर बनाउने र त्यसलाई सिमसार क्षेत्र कपरकट्टी ताल (बैठौलियाको नरेश्वर ताल नाम प्रस्ताव गरिएको) सम्म जोडेर गुरुयोजना बनिरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

चक्रपथले नरेनापुर धाम र कपरकट्टी ताल हुँदै त्यहाँका पुराना बस्ती केद्ली डाँडा, हिरा चोक हुँदै फर्साटिकर रोडमा जोडिने छ । फर्साटिकर रोड बुटवल–बेलबास–बेथरी सडकमा जोडिएको विमानस्थल र लुम्बिनी जाने वाइपास सडक हो । यहीँ सडकले वडा नम्बर १३ को नुवाकोट गढी प्रवेशद्वार हुँदै अगाडि बढेको १३ का अध्यक्ष नारायणप्रसाद पुनले बताए ।
बस्तीमा सार्वजनिक यातायात पुर्याउने र त्यसका माध्यमबाट कृषि उपजको बजार विस्तार, बुटवलको भिडभाडलाई कम गर्ने विश्राम स्थलका रुपमा विकास गर्नका लागि चक्रपथ निर्माण गरिएको प्रवक्ता रेग्मीले बताए ।
फर्साटिकर रोडमा जोडिएको चक्रपथलाई बाझापुर, विनायकपुर, भाटा, मनोहरापुर, सातकुला हुँदै मोतिपुर चोकमा लगिएको छ । मोतिपुर पुरानो बस्ती र खेतीयोग्य क्षेत्र भएको ठाउँ हो । मोतिपुरदेखि झण्डापुर, हरिहरपुर, रानीगञ्ज हुँदै योगिकुटीको तिलोत्तमा घाट (मगरघाट) मा जोडिने छ । तिलोत्तमा घाटमा पुलको निर्माण कार्यसम्पन्न भइसकेको छ ।
योगीकुटीचोक हुँदै रामनगर पुगेको चक्रपथलाई आम्दा अस्पताल, शिवनरग वन क्षेत्रबाट हिलपार्क गेटसम्म पुर्याइएको छ । हिलपार्कलाई बुटवलले बुद्धपार्कका रुपमा विकास गरिरहेको छ । विशाल बुद्धमुर्ती सहितको ध्यान केन्द्र बनाउने तयारी स्वरुप डीपीआर बनाउने काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।
हिलपार्क जोड्दै अगाडि बढेको सडकले चन्द्रनगर, आदर्शनगर र लक्ष्मीनगर पनि जोड्ने छ । लक्ष्मीपार्कलाई गुरुयोजनासहित उच्च स्थानको विशेष पार्कका रुपमा विकास गर्न लागिएको वडा नम्बर ४ का अध्यक्ष टंक पराजुलीले बताए ।
चक्रपथको पहिलो चरणको कामका लागि ५० करोड लागत अनुमान गरिएको छ । यद्यपि नगर यातायात गुरुयोजना भने कम्तिमा डेढ अर्ब बराबरको छ । चक्रपथको हालसम्म ३० प्रतिशत काम पूरा भइसकेको र ट्रयाक खोल्दै पीच र ग्राभेलका काम चलिरहेका छन् ।

करीब १२ वटा कल्भर्ट मध्ये ६ वटाको निर्माण पूरा भइसकेको छ । २ ठूला नदीमा पुल निर्माण भइसकेका छन् भने सेमलारमा पुल निर्माणको काम चलिरहेको छ । कम्तीमा २ वर्ष भित्रमा चक्रपथ निर्माण पूरा गर्ने गरी काम भइरहेको उपमहानगरका योजना प्रमुख वरिष्ठ अधिकृत ईन्जिनियर सुमन श्रेष्ठले बताए । प्रदेश सरकारले भने एउटै योजनामा २ वटा सरकारको थोरै–थोरै बजेट लगाउनुभन्दा एउटै सरकारले सम्पन्न गर्ने गरी काम गर्ने इच्छा देखाएको श्रेष्ठको भनाइ छ ।
बुटवलको अलग्गै नगर यातायात गुरुयोजना
बुटवल उपमहानगरले नगर यातायात गुरुयोजना नै निर्माण गरेर चक्रपथ बनाउन बजेट छुट्याएको थियो । हालसम्म ग्राभेल र पीचसमेत गरी करीब ५ करोड बराबरको काम भइसकेको छ । यसमा जनसहभागितासमेत जोडिएको छ । चक्रपथ र पैदलपथको प्राविधिक अध्यय्न तथा परामर्शको काम नेस्ट र इकोकोड नामका कम्पनीका प्राविधिकको सहकार्यमा भएको थियो ।
गुरुयोजनाका लागि २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसमा बसपार्कदेखि विश्रामस्थल र ग्यारेजसम्मको योजना छ । १ वर्ष लगाएर यो नगर गुरुयोजना बनेको थियो ।
उपमहानगरपालिकाले २ वर्षदेखि चक्रपथ निर्माणका लागि बजेट छुट्याएर सडक निर्माणलाई तीब्रता दिएको छ । अबको कम्तीमा ६ महिनामा धेरै स्थानमा नगर माइक्रो बस सञ्चालन गर्न मिल्ने गरी सडक निर्माणको काम अगाडि बढेको छ ।
अघिल्लो आवमा उपमहानगरले १ करोड बजेट छुट्याएर सडक निर्माण गरेको थियो । चालू वर्ष उपमहानगरले वडा नम्बर १२, १३ मोतीपुर सेमलार क्षेत्रका लागि २ करोड रुपैयाँ चक्रपथका लागि छुट्याएको थियो । यसको काम अहिले भइरहेको छ ।
यसैगरी प्रदेश सरकारले बुटवल वडा नम्बर ११ र १३ का लागि ५० लाख रुपैयाँ बजेट छुटाएको थियो । उपमहानगरभित्र १ सय ९३ सडक रहेको र अधिकांश कालोपत्रे भइसकेको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख शिवनारायण शाहले जानकारी दिए ।