काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को भोलि बस्ने सचिवालय बैठकले पार्टीको विभाग गठनलाई पूर्णता दिने भएको छ ।
लामो समयपछि मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभाग गठनबारे छलफल भएको थियो ।
भोलि बस्ने सचिवालय बैठकले पार्टीको विभिन्न विभाग गठनलाई पूर्णता दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘भोलिको बैठकले विभाग गठनलाई अन्तिम रूप दिन्छ, समय बाँकी रहेमा पोलिटब्यूरो र प्रवास कमिटी गठनमा छलफल हुन्छ,’ श्रेष्ठले भने ।
जिल्ला ईञ्चार्ज र सहइञ्चार्जहरू पनि भोलिसम्म टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।
प्रचण्डको अभिव्यक्तिबारे भएन छलफल
पार्टी एकताको समयमा भएको सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिबारे बैठकमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।
गतसाता प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले पार्टी एकतापूर्व भएको सहमतिको स्मरण गराएका थिए । पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्नेसम्बन्धी सहमतिका सम्बन्धमा प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर पूर्व एमाले खेमा सशंकित बनेको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ९ जना सदस्य नै उपस्थित भएका थिए ।