
काठमाडौं – बलिउड सुपरस्टार हृत्तिक रोशनको नयाँ फिल्म सुपर ३० को ट्रेलर मंगलवार सार्वजनिक भएको छ ।
यसमा उनले पटनामा बस्ने गणितका विद्वान् तथा सुपर ३० नामक शैक्षिक कार्यक्रम चलाउने आनन्द कुमारको भूमिका निर्वाह गरेका छन् ।
हृत्तिकको चरित्रले धनीका सन्तानलाई कोचिङ गर्न छोडेर गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहायता गर्ने देखाइएको छ ।
हृत्तिकले फिल्ममा बोलेको संवाद अमिताभ बच्चनले डन फिल्ममा बोलेको जस्तै सुनिन्छ । तर हृत्तिकले बिहारी लवज निकाल्न भने सकेका छैनन् ।
आनन्द कुमारले गरीब परिवारका प्रतिभाशाली विद्यार्थीहरूलाई भारतको प्रसिद्ध आईआईटीमा प्रवेश गराउन शैक्षिक कार्यक्रम चलाएका छन् र हृत्तिकले तिनैको भूमिका निर्वाह गरेका हुन् ।
फिल्मको निर्देशन विकास बहलले गरेका हुन् र उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि फिल्मबाट निकालिएको थियो । तर हालै मात्र उनले सबै आरोपबाट सफाइ पाएका छन् ।
फिल्ममा हृत्तिक बाहेक मृणाल ठाकुर र पंकज त्रिपाठी पनि राम्रो भूमिकामा छन् । फिल्म जुलाई १२ मा सार्वजनिक हुनेछ ।
एजेन्सी