
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टीले मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा नभई सस्तो लोकप्रियताका लागि बजेट ल्याएको बताएका छन् । प्रतिनिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, 'वित्तीय अनुशान र विकासको दिगो आधार खडा गर्ने ढङ्गबाट बजेट आएको छैन, केवल जनतालाई सपना देखाउने ढङ्गबाट ल्याइएको बजेट कार्यान्वयन गर्ने आधार छैन ।'
सांसद सुरेन्द्रकुमार कार्कीले बजेटको समर्थन गर्दै शिक्षा स्वास्थ्यजस्ता आधारभूत विषयमा सरकारले जिम्मा लिएर व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव दिए । सांसद पार्वता डिसी चौधरीले बजेट वितरणमुखी भएको उल्लेख गर्दै सङ्घीयताविरोधी भएको तर्क गरिन् । सांसद पद्म गिरीले बजेटमार्फत घोषणा गरेको सरकारका कार्यक्रम व्यहारमा कार्यान्वयन गर्न सके मुलुकको व्यापार घाटा कम हुने र आर्थिक वृद्धि तिब्र हुने धारणा व्यक्त गरे ।
सांसद प्रमिला राई उत्पादनभन्दा बढी वितरणमुखी भएकाले कार्यान्वयनमा चुनौती रहेको बताइन् । सांसद गगनकुमार थापाले सरकारको नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’ भए पनि आयोजनाको सङ्ख्या धेरै भए पनि सिद्धान्त नभएको बताए । मुलुकलाई विकासको दृष्टिकोणबाट रुपान्तरणको बीउ रोप्ने अपेक्षाअनुसार बजेट नआएको थापाले टिप्पणी गरे ।
सांसद चूडामणि खड्का संविधानका मौलिक अधिकारलाई बजेटले कार्यान्वयन गर्ने शुरुआत गरेको बताउँदै शहरमा भन्दा गाउँमा बजेट धेरै राखेर समाजवाद निर्माणको आधार तय गरेको बताए । सांसद उमा रेग्मीले निर्वाचन घोषणा पत्रमा रु पाँच हजार मासिक दिने भएको तर अहिले रु तीन हजार मात्र दिएर जनतालाई नेकपाले ढाँटेको आरोप लगाइन् ।
सांसद महेश बस्नेतले बजेट सामाजिक न्याय र लोककल्याणकारी राज्यको अवधारणाअनुसार आएको भन्दै बजेटले शिक्षालाई जीवनउपयोगी बनाउन प्रोत्साहन गरेको भनी प्रशंसा गरे । सांसद सुजाता परियारले गत वर्षको बजेटमा भएका सबै कार्यक्रम कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्दै पनि यस वर्षको बजेट पनि कार्यान्वयन भन्दा प्रचारमुखी रहेको धारणा व्यक्त गरिन् ।
सांसद कृष्णकुमार श्रेष्ठले इतिहास मै सबैभन्दा राम्रो बजेट आएको भन्दै सबै नेपाली खुशी देखिएका छन् भनी बजेटको प्रशंसा गरे । सांसद खेमप्रसाद लोहनीले समृद्धिको समयमा वितरणमुखी बजेटले खास परिर्वतन ल्याउन नसक्ने उल्लेख गरे । सांसद नवीना लामाले बजेट विकासमुखी र सुधारवादी भएको भनी बजेटको प्रशंसा गरिन् ।
बजेटमाथिको छलफलमा भाग लिने सत्तापक्षका सांसदले सामाजिक न्याय र लोककल्याणकारी राज्यको अवधारणाअनुसार बजेट आएको तर्क गर्दै स्वागत र समर्थन गरेका छन् भने प्रतिपक्षका सांसदले बजेट वितरणमुखी भएको हुदाँ कार्यान्वयन हुनै नसक्ने तर्क प्रस्तुत गरेका छन् । सांसदहरु हीरा गुरुङ, जुलीकुमारी महतो, झपट रावल, विमला विश्वकर्मा, ज्ञानकुमारी छन्त्याल, मोहन बानियाँ, राजेन्द्रप्रसाद गौतम, नवराज रावत, रेखाकुमारी झा, गणेशकुमार पहाडी, गौरीशङ्कर चौधरी, विष्णु शर्मा, हीराचन्द्र केसीलगायतले आजको बजेटमाथिको सामान्य छलफलमा भाग लिए । बजेटमाथिको छलफल आगामी बैठकमा समेत जारी रहने र बैठकमा सांसदले उठाएको प्रश्नको अर्थमन्त्रीले आगामी बैठकमा जवाफ दिनेछन् । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २३ गते बिहान ११ बस्नेछ ।