१३ असार २०८३, शनिबार

चलचित्र कलाकार संघका महासचिव उम्मेदवार भन्छन् - केही गर्नुपरे चन्दा नउठाइ हुन्न

चलचित्र कलाकार संघका महासचिव उम्मेदवार भन्छन् - केही गर्नुपरे चन्दा नउठाइ हुन्न

काठमाडौँ - सदस्यता सम्बन्धी विवादका कारण स्थगित भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचन यही जेठ २५ गते हुँदैछ । आगामी कार्यकालको लागि हुने निर्वाचनमा वर्तमान महासचिव सरिता लामिछाने र पूर्वअध्यक्ष रविन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । सोही चुनावमा २ उपाध्यक्ष पदमा ४ जना र महासचिव पदका लागि २ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा भने सुनिल कटुवालको मात्र उम्मेदवारी दर्ता भएको छ ।

महासचिव पदका लागि उम्मेदवारी दिएका संजय खतिवडा चुनाव जसले जिते पनि महासंघको प्रतिष्ठा र गरीमा स्थापित गराउनु पर्ने बताउँछन् । 'कलाकारबीचको विभाजित मानसिकता हटाउनुपर्छ, एकतालाई सुदृढ बनाउनुपर्छ र कलाकार राजनीतिक रूपमा प्रयोग हुने र काम सकिएपछि फ्याँकिने अवस्थाको अन्त्य गर्नुपर्छ,' लोकान्तरसँगको कुराकानीमा खतिवडाले भने यिनै एजेण्डा लिएर म पनि उम्मेदवार बनेको छु ।'

नेपाल चलचित्र कलाकार संघ फुर्सदिला कलाकारको संगठन हो भन्ने आरोप पटक-पटक लागिरहेको छ । तर यसलाई बहसको विषय बनाउन नहुने खतिवडाको धारणा छ । 'कामको चाप कम भएका कलाकारले संस्थाको नेतृत्व लिएर काम गर्नुहुन्छ । व्यस्तता र फुर्सदका बारेमा अतिरिक्त बहस आवश्यक छैन,' खतिवडाले प्रतिक्रिया दिँदै भने, यो संघ कलाकारको समग्र हितको लागि काम गर्ने फोरम हो । यसलाई निष्पक्ष र स्वतन्त्र संस्था बनाउनु जरुरी छ । प्यानल बनाउनु, गुटबन्दी गर्नुआवश्यक छैन ।'

चुनावको बेलामा कलाकारको नाम पार्टीसँग जोडिन्छ तर कलाकारका लागि संस्थागत रूपमा पार्टीले बोलेको उदाहरण नभएको भन्दै खतिवडा असन्तुष्टि व्यक्त गर्छन् । त्यही करणले पनि संस्था राजनीतिक भागबण्डाको चरित्रबाट मुक्त हुनुपर्ने उनको भनाइ छ ।

नेपाल चलचित्र कलाकार संघमा करीब ५ सय हाराहारीमा सदस्य छन् । यसअघि सदस्यतासम्बन्धी विवाद निकै बल्झिएको थियो । त्यही कारणले हुनुपर्ने समयमा निर्वाचन समेत स्थगित भएको थियो । त्यहाँमाथि कलाकार संघको आफ्नै भवन छैन र आर्थिक कोष पनि कमजोर देखिएको छ ।

खतिवडा भन्छन्, 'केही गर्नुपरे चन्दा उठाउनुपर्ने अवस्था छ । कलाकारहरूले संस्थामार्फत राजनीति गरेको आरोप लागिरहेको छ । कलाकारबीच तिक्तता छ, दुरी छ । सदस्यताको विषयमा विवाद भएर निर्वाचन नै सरेको यथार्थ हामीसामु छ । संस्थामा अनेक विकृति छन् । यी यावत् विकृतिलाई हटाएर संस्थालाई स्थायित्व दिनु महासचिवको रुपमा मेरो कार्यभार हुनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्