
काठमाडौं– नेपाल प्रहरीले लूटपाट मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको छ ।
हतियार देखाएर लूटपाट गर्दै आएका तामाङलाई प्रहरीले शुक्रवार जोरपाटी अत्तरखेलबाट गोली प्रहार गरी पक्राउ गरेको हो ।
सोही अभियोगमा नितेश तामाङ, अजय घ्यावा तामाङ, रुपेश चौलागाईं र मकवापुरका भीमराज थिङ यसअघि नै पक्राउ परिसकेका थिए ।
तामाङलाई पक्राउ गर्नका लागि खुट्टामा गोली हानेको अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकूल थापाले लोकान्तरलाई बताए ।
उनीहरूले गत जेठमा जोरपाटीका बुद्धराम सुनारले सञ्चालन गरेको भिमेश्वर सुनचाँदी गहना पसलमा खुकुरी देखाएर ८० हजार लूटपाट गरेका थिए ।
यस्तै गत जेठ ३ गते ललितपुर इमाडोलको सुरेशराज शर्माले सञ्चालन गरेको असन इन्भेस्टमेन्ट प्रा.लि.मा खुकुरी देखाई १ लाख लूटपाट गरेको घटनामा पनि यही समूह संलग्न रहेको एसएसपी थापाले बताए ।
एसएसपी थापाले थपे– ‘यसभन्दा अगाडि गत चैत गोकर्णेश्वरको पाथीभरा मनी ट्रान्सफरबाट ३ लाख ५० हजार समेत लुटपाट गरेको देखिन्छ ।’
उनीहरू चाबहिलको एग्रिमो बचत तथा ऋण सहकारी र कलंकीको पिपुल्स मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेर फरार भएका थिए ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २४४ उपदफा २ (क) बमोजिम ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार देखि १ लाख ४० हजारसम्म जरिवाना र मुलुकी अपराध (संहिता ऐन को दफा १८३ को ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाखसम्म जरिवाना हुने एसएसपी थापाल बताए ।