
काठमाडौँ - पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले भारतका समकक्षी एस जयशंकरलाई शुक्रवार एक पत्र लेखेका छन् । पत्रमा उनले 'सबै महत्त्वपूर्ण मुद्दा'मा पाकिस्तान भारतसँग वार्ता गर्न चाहेको बताएका छन् । साथै यस क्षेत्रमा शान्ति स्थापित गर्ने प्रयासलाई लिएर पाकिस्तान प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कुरेशीले जयशंकरलाई कार्यभार सम्हालेकोमा बधाई दिन पत्र लेखेको भएपनि पाकिस्तान भारतसँग जुनसुकै मुद्दामा वार्ता गर्न तयार रहेको कूटनीतिक सन्देश दिइएको उक्त पत्रलाई भारतले कसरी प्रतिक्रिया जनाउँछ, हेर्न बाँकी छ । जयशंकरले यही मेको ३० तारिखमा पदभार ग्रहण गरेका थिए ।
कुरेशीले पत्रमा भनेका छन्, 'ईस्लामावाद नयाँ दिल्लीसँग सबै महत्त्वपूर्ण विषयमा बातचीत गर्न चाहन्छ र यस क्षेत्रमा शान्ति स्थापना गर्ने प्रयासका लागि प्रतिबद्ध छ ।' पुलावामा हमलापछि दुवै देशबीच तनाव बढेर गएको थियो । भारतले बालाकोटमा सर्जिकल स्ट्राइक गरेपछि दुवै देश लगभग युद्धको स्थितिमा पुगेका थिए ।
त्यसपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २६ मेमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्दै यस क्षेत्रमा शान्ति र समृद्धिका लागि सँगै काम गर्न तयार रहेको बताएका थिए । मोदीले शान्ति र समृद्धिको लागि काम गर्न आतंकवादमुक्त परिस्थिति हुनुपर्ने भन्दै पाकिस्तानको तर्फबाट आएको वार्ताको प्रस्ताव अस्वीकार गरिदिएका थिए ।