०७ असार २०८३, आइतबार

कीर्तिपुरको जंगलमा मृत भेटिए एमबीबीएस विद्यार्थी, होटलका बाउन्सरले कुटे ग्राहक

कीर्तिपुरको जंगलमा मृत भेटिए एमबीबीएस विद्यार्थी, होटलका बाउन्सरले कुटे ग्राहक

काठमाडौं–   प्रधानमन्त्री केपी शर्मा ओली अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङ्लगायतले बिदाइ गरेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।
 
    भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत छन् ।
    प्रधानमन्त्री ओली यही २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा दुई दिन जेनेभामा रहनुहुनेछ । भ्रमणकै क्रममा प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    जेनेभा बैठकमा विश्वका करीब ४५ देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने बताइएको छ । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फुट ओक्टे, नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।

    सो क्रममा प्रधानमन्त्री ओलीले युरोपेली देशका अन्य दुई मुलुकको पनि औपचारिक भ्रमण गर्नेछन् । उनले जेठ ३२ गतेसम्म स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएकाले उनले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छिन् ।


कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए 

काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए । 

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । 

खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमा दाजुभाउजुसँग बस्दै आएको बताइएको छ । 

केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ ।


युएई र मरिसससँग श्रम समझदारी 

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुनलागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा यसैसाता हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन आउने युएई र मरिससका सम्बन्धित मन्त्रीसँग समझदारीपत्रमा हस्ताक्षर हुनेछ । 

    
भत्ता बढेपछि रोकियो आन्दोलन

सरकारले मासिक भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्षदेखिको धर्ना अन्त्य गरेका छन् । अग्रज समाज नेपालको आह्वानमा नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि धर्नामा रहेका ज्येष्ठ नागरिकले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाका लागि विगतको तुलनामा सन्तोषजनक व्यवस्था गरेकाले सहर्ष धर्ना रोकेका हुन् ।

समाजका अध्यक्ष महाप्रसाद पराजुलीले भने, “देशका बा–आमालाई सुविधा बढाउन आवाज उठाउँदा विगतका सरकारले आश्वासन पूरा गरेनन् । कतिपय सरकारले प्रहरी लगाएर आमाहरुलाई चुल्ठोमा समातेर लात्ताले समेत हाने । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भत्तावृद्धिको माग सम्बोधन गरेको छ, हामी खुशी छौँ ।”

होटलका बाउन्सरले ग्राहक कुटे  

बाराको सिमरामा रहेको इच्छा होटलका बाउन्सरले शुक्रबार राति तीन जनालाई मरणासन्न हुने गरी कुटेका छन् । सिमराका विजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते बाउन्सरको कुटाईबाट घाइते भएका हुन् । 

घाइतेलाई होटलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि घाइते मध्येका पाठकलाई राति नै काठमाडौं पठाइएको परिवारले जनाएको छ ।

अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ । कुटपिट हुन थालेपछि पुडासैनीले भागेका थिए ।  
अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिइ कुटपिट गरेका थिए । प्रहरीले उल्टै घाइतेलाई पक्राउ गर्न खोजेपछि स्थानीय युवाले विरोध गर्दा अस्पतलमा केहीबेर तनाव भएको थियो ।  

घाइतेलाई पक्राउ गर्न पुगेका २० बढी प्रहरी स्थानीय युवा र जनप्रतिनिधिको विरोधपछि फर्किएका थिए ।  

ग्राहकलाई मरणासन्न हुनेगरि कुट्ने बाउन्सर र कर्मचारीलाई कारवाही गर्न माग गर्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

पत्रकारको हातेसाङ्लो प्रदर्शनी

नेपाल पत्रकार महाङ्घले सरकारले संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा शनिबार ‘हातेसाङ्लो प्रर्दशन गरेको छ ।

बबरमहलमा दिउँसो ३ बजेदेखि ४ घण्टासम्म हातेसाङ्लो प्रर्दशन गरेको थियो । प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार सहभागिता रहेको थियो । सबै पत्रकारले हातहात जोडेर प्रदर्शन गरेका थिए ।
 
प्रदर्शनमा ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रताको सम्मान गर’, ‘संविधानको प्रस्तावको सम्मान गर’ जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा आयोजित सभामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रदत्त गरेको स्वतन्त्रता हनन हुने गरी विधेयक ल्याइएकाले खारेज वा संशोधन गर्नुपर्ने बताए । उनले  विधेयकको संशोधनका लागि महासङ्घले राखेका १६ बुँदालाई सम्बोधन गर्नुपर्ने भन्दै विधेयक संशोधन वा फिर्ता नभए सरकारविरुद्ध थप सडक आन्दोलन गर्ने बताए । 


धर्मसापेक्ष राष्ट्रको माग

    ॐकार परिवारअन्तर्गतका विभिन्न धर्मका गुरुले धर्मसापेक्ष राष्ट्र घोषणा गर्न माग गरेका छन् । मानिसमा सामाजिक सदाचार, नैतिकता आदि गुणको विकास गर्न पनि धर्मसापेक्ष राष्ट्र हुनुपर्नेमा जोड दिइएको हो । हिन्दू, बौद्ध, शिख, जैन र किराँत धर्मका गुरुले निरपेक्षतासँगै परम्परादेखि चली आएको नेपाली मौलिक संस्कृतिमाथि आक्रमण बढेको बताए ।

    योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्लगायत १०० वटा धार्मिक संस्थाले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा धर्म निरपेक्षतासँगै देशमा सदाचारी भावना कमजोर हुँदै गएकाले भ्रष्टाचार रोक्न पनि धर्मप्रतिको आस्था वृद्धि गरिनुपर्ने माग गरियो । 


    विप्रेषण शेयर बजारमा ल्याउने उपाय खोजौँः अर्थमन्त्री 

    अर्थमन्त्री डा युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकाछन् । 

    विप्रेषणबाट प्राप्त हुने रकम घरजग्गालगायत अन्य दैनिक उपभोगका क्षेत्रमा मात्रै खर्च भइरहेकाले सो रकम शेयर बजारमा मात्रै लगाउनसके अर्थतन्त्रमा केही न केही सुधार हुने अर्थमन्त्रीको सङ्केत थियो । 

    नेपाल धितोपत्र बोर्डको २७औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले देशको अर्थतन्त्र क्रमशः सबल बन्दै गएकाले त्यसको प्रतिविम्बन शेयर बजारमा पनि देखिने उल्लेख गरे । मन्त्री खतिवडाले शेयर बजारलाई अनावश्यकरुपमा बढाउने र घटाउने प्रवृत्तिको निरुत्साहनका लागि पनि सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताए । 


क्षेत्रीय सचिवसहित काङ्ग्रेस कार्यकर्ता नेकपामा प्रवेश

नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । जिल्लाको शहीद लखन गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामशरण बस्नेतले काङ्ग्रेस र समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा पार्टी प्रवेश गरेका हुन् । 

    कार्यक्रममा दुवै पार्टीका गरी शहीद लखन गाउँपालिका–७ का ११४ जना र वडा नं ८ का ११५ र गोरखा नगरपालिकाका चार जना काङ्ग्रेस र समाजवादी पार्र्टी छोडेर नेकपा प्रवेश गरेकोे नेकपा शहीद लखन गाउँपालिका अध्यक्ष मनोज जोसीले जानकारी दिए । 

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट

    माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा  जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी शनिबार प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ ।
  
    बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी क्षति पु¥याएको छ । यस्तै घरको बरण्डामा राखेको भे७प ९६९८ नंको मोटरसाइकलमा आगजनी गरी ५० प्रतिशत क्षति भएको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।  बम विष्फोटबाट अन्य मानवीय क्षति भएको छैन् ।
  
    घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ । घटनाको जिम्मेवारी कसैले नलिएको र विप्लव समूहले विष्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । 

    कोरियाली भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ
 
सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।
 
       परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।  परीक्षामा अमर्यादित गतिविधि गर्ने ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । 

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो । 

मुख्यमन्त्री शाहीको जवाफपछि बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाहीले पक्ष र विपक्षमा ध्वनि मत लिँदा नेपाली काङ्ग्रेससँग सम्बद्ध सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा हुन्न भने मत व्यक्त गरेका थिए । 

भारतमा एक नेपालीको हत्या

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।   

    भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ । 

आज सार्वजनिक बिदा

सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा बिदा दिने निर्णय भएको हो ।

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल  पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्