०९ असार २०८३, मंगलबार

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता
फाइल फोटो

गोरखा –  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ गोरखा आइपुगेका सभापति देउवाले आइतवार दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।

उनले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हँदा यहाँको पर्यटन विकासमा बाधा पुग्ने बताए ।

“दरबार पुनःनिर्माण छिटो हुनुपर्छ”, सभापति देउवाले भने, “सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ ।”
  
दरबार पुनःनिर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै उनले पुनःनिर्माणलाई तीव्रता दिन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरे ।

सभापति देउवाले भने, “धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हुँदैन ।” 

सो अवसरमा सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पूजा गरे  । सो क्रममा उनले दरबार पूर्णरुपमा भत्काइएकाले नियमित पूजापाठमा भएका समस्याका बारेमा जानकारीसमेत लिए ।

देउवाले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा नियमित पूजाका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेटमा कटौती हुन नहुनेमा समेत जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्