२७ जेठ २०८३, बुधबार

कम्युनिस्ट सरकारले देश बर्बाद पार्‍यो - देउवा

कम्युनिस्ट सरकारले देश बर्बाद पार्‍यो - देउवा
फाइल फोटो

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई संवैधानिक निकायहरूको अधिकार खोसेर देश बर्बाद पारेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले अख्तियार, मानवअधिकार आयोग जस्ता संवैधानिक निकायको अधिकार खोस्न खोजेको र प्रेसलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको भन्दै ओली सरकार आएपछि देश बर्बाद भएको आरोप लगाए ।

'ओली सरकार आएपछि देश बर्बाद भयो,' देउवाले भने, 'जनताका प्रजातान्त्रिक अधिकार खोस्ने गरी आएका विधेयकहरू कुनै पनि पास हुन दिँदैनौं ।' सरकारले देश बर्बाद पारेको कांग्रेसले टुलुटुलु नहेर्ने देउवाको भनाइ थियो ।

राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने देउवाले उल्लेख गरे ।

'नेपालीसँग पैसा छ, नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ,' देउवाले भने, 'चिनियाँ गेजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी होइन, गोजुवालाई आयोजना निर्माणको ठेक्का दिनु हुँदैन । गेजुवाले तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजना जिम्मा लिएर १८ वर्ष लगाएको उदाहरण छ ।'

उनले भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुनर्निर्माणमा ढिलाइ भएकोमा पनि आपत्ति जनाएका छन् । देउवाले ओली सरकारले गरेका गल्तीहरू विरुद्ध कांग्रेसले छिट्टै सडक आन्दोलन गर्ने चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्