
काठमाडौं – प्रतिनिधिसभा नियमावली अनुसार संसदको बैठक चलाउन सभामुख कृष्णबहादुर महरा पटक–पटक चुक्दै आएका छन् ।
सोमवार पनि महरा बैठक सञ्चालनमा चुकेका छन् । सभामुखको कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बैठकको शुरूमै कांग्रेसले समय माग गरेर आइतवार काठमाडौंको माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा उत्रिएका सर्वसाधारणमाथि गरिएको दमनबारे विरोध र गृहमन्त्रीको जवाफ माग गरेको थियो ।
कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृण्ण खाणले सरकारी दमनप्रति आपत्ति जनाउँदै सरकारको जवाफ माग गरे । खाण बोलेलगत्तै सभामुख महराले सत्तापक्षकी सांसद पम्फा भुसालललाई बोल्नको लागि समय दिए ।
भुसाललाई समय दिएकोमा कांग्रेसले आपत्ति जनायो । एउटै विषय भएको भन्दै महराले भुसाललाई बोल्न दिए । ‘तपाईहरूले नै उठाएको विषय उहाँले उठाउँदै हुनुहुन्छ, सुन्नुस् माननीय सदस्य,’ सभामुख महराले भने ।
तर खाणले आपत्ति जनाए – सदन अवरुद्ध छ, हामीले सरकारको जवाफ मागेको हो सभामुख महोदय ।
महराले जवाफ फर्काए, ‘सरकार बोल्छ माननीय सदस्यहरू, माननीय पम्फा भुसाल तपाईंहरूको विषयमा बोल्दै हुनुहुन्छ ।’
ललितपुर क्षेत्र नम्बर २ की सांसद भुसालले कांग्रेसकै समर्थन र गुठीयारको पक्षमा बोलिन् । ‘जतिबेला ललितपुरमा राष्ट्रपति, सभामुखको अगाडि राता्े मच्छिन्द्रनाथको भोटो देखाइँदै थियो, त्यही बेला मण्डलामा भएको दमनको विरोध गर्छु,’ उनले भनिन् ।
भुसाल बोल्दै गर्दा कांग्रेस सांसदहरूले उभिएर हुटिङ गरिरहेका थिए । सभामुख महराले भुसाललाई भनाइ छोट्याउन आग्रह गरिरहेका थिए ।
भुसाल बोलेपछि खाणले भने, ‘सत्तापक्षकी सांसदले केही बोल्न खोज्नुभएको थियो, हामीले सुन्न पाएनौं । किनकि संसद अवरुद्ध थियो ।’
त्यसपछि महराले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याललाई बोल्नको लागि समय दिए । मन्त्रीले मण्डलामा भएको घटना निषेधित क्षेत्र तोड्न खोज्दा भएको बताइन् ।
मन्त्री बोलेपछि महलाले प्रतिपक्षीलाई चित्त बुझ्यो बुझेन भनेर सोधे । त्यसपछि कांग्रेस सचेतक पुष्पा भुसाललाई बोल्नको लागि समय दिए । सभामुखबाट बोल्न समय पाएकी भुसालले शुरूमै सभामुख महराको कार्यशैलीप्रति आपत्ति जनाइन् ।
‘संसदीय व्यवस्थामा सरकार सत्ताको र सदन प्रतिपक्षको हुन्छ भन्ने मान्यता छ । प्रमुख प्रतिपक्षी दलले बोलेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा, सदनमा प्रतिपक्ष खडा भइरहेको समयमा सत्ता पक्षबाट जुन काम भयो । संसदीय अभ्यास र प्रणाली विपरीत भएकाले घोर आपत्ति जनाउन चाहन्छौं,’ भुसालले भनिन् ।
भुसाल बोलेपछि सभामुख महराले कांग्रेसले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले उपयुक्त समयमा सरकारले जवाफ दिने बताए ।
गृहमन्त्री सदनमा उपस्थित नभएकाले केही समयमा बोलाउने सभामुखले आश्वासन दिए तर सभामुखको आग्रहलाई कांग्रेसले मानेन । त्यसपछि सभामुख महराले संसदको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
सभामुख नियमावली विपरीत चलेको भन्दै कांग्रेसले विगतमा पनि आपत्ति जनाएको थियो । प्रतिपक्षी दल उभिइरहेको समयमा सरकारका नीति तथा कार्यक्रम पारित गरेको, चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै आएको छ ।