
काठमाडौं – यस वर्ष मनसुन १ हप्ता ढिलो भित्रिने भएको छ ।
नेपालमा मनसुन सोमवार अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा १ हप्ता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।
‘मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो त्यो बनिसकेको छैन बिस्तारै बन्ने क्रममा छ,’ उनले भने ।
मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।
नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब ६ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन ।
जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरू हुने मौसमविद् अर्यालले जानकारी दिए ।
मनसुन पूर्ण सक्रिय हुनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्प्रष्टसँग देखिनपर्ने हुन्छ । न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेकोको हुनुपर्छ । यसका साथै उच्च चापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ ।
सामान्यतया नेपालमा मनसुन शुरू हुने समय जुन १० हो । यसवर्ष मनसुन १ हप्ता ढिलो गरी शुरू हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन शुरू भएको थियो ।