
खोटाङ- खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरू गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरू गरिएको हो ।
समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’ पदमार्गमा पर्ने सो टावरका लागि नगरपालिकाले यस वर्ष २७ लाख बजेट विनियोजन गरेको थियो ।
गत वैशाख १६ गतेबाट निर्माण शुरू गरिएको टावर निर्माणको पहिलो चरणको काम करीब ९० प्रतिशत सकिएको निर्माण उपभोक्ता समितिका उपाध्यक्ष सप्तमणि राईले बताए । 'रुपाकोटस्थित गढीडाँडामा निर्माण शुरू गरिएको भ्यू टावरमा छानो हाल्ने र रङरोगन गर्ने काम बाँकी छ,' उनले भने, 'पहिलो चरणको काम आगामी असार दोस्रो साताभित्र सम्पन्न गर्ने योजना बनाएका छौं ।'
सूर्योदय र सूर्यास्त दुवैको दृश्य अवलोकन गर्न सकिने पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावरसँगै प्राकृतिक बगैंचा, वनभोजस्थल, कृत्रिम पोखरी निर्माणलगायत भौतिक विकासका काम गरिने नगरप्रमुख दीपनारायण रिजालले बताए । 'रुपाकोट प्राकृतिक हिसाबले नमूना पर्यटकीयस्थलका रुपमा रहेको छ,' उनले भने ।
रुपाकोटमा निर्माणाधीन भ्यू टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमाली शृङ्खला तथा तराईका विभिन्न जिल्लामा रहेको फाँटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि करीब तीन घण्टा पैदल उकालो चढेपछि रमणीयस्थल रुपाकोट पुगिन्छ ।
ढुङ्गे बाटो पछ्याउँदै उकालो चढेपछि पुगिने रुपाकोटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक दिनानुदिन बढ्दै गएको छ । चारैतिर घना जङ्गलको बीचमा रहेको सो क्षेत्रमा विशेषगरी नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
ठूला–ठूला घाँसेमैदान रहेको यहाँ वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तको दिन आउने र रातभरि जाग्राम बसेर पुरानो वर्षलाई बिदा गर्ने तथा नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । रातको १२ बजे वर्षलाई बिदा गरिन्छ । त्यतिखेर वर्षभरि गरेका राम्रा कुराको अनुसरण गर्ने र नराम्रा कुरालाई सधैँका लागि बिदा गर्ने चलन छ ।