काठमाडौँ - दार्चुलामा शौचालय भत्किँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले बताएका छन् ।
लोकान्तरसँग कुरा गर्दै दार्चुला प्रहरीको सूचना अधिकारी समेत रहेका बोहोराले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । उनका अनुसार मृत्यु हुनेमा तीन बालिका र एक बालक रहेका छन् ।
उनका अनुसार नौगाड गाउँपालिका–४ का ९ वर्षीय निरुता ठगुन्ना, १० वर्षीय अनुस्का धामी, ५ वर्षीय युनिका ठगुन्ना, ८ वर्षीय सुदिप धामीको मृत्यु भएको हो ।
मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८/९ वर्षीय ४ बालबालिका छाना भत्किँदा पुरिएका हुन् ।
सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा मृतक बालबालिकाको शव भने निकालिसकिएको बोहोराले जानकारी दिए ।