
सुर्खेत – नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङको शव ३ दिनदेखि अस्पतालमै रहेको छ ।
गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्रयाक्टर व्यवसायी संघका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए । आफन्तले शव बुझ्न नमानेपछि शव परीक्षण हुन नसकेको उनले बताए ।
शुक्रवार गाडी साहु आउने र घटनाको टुंगो लाग्ने उनको भनाइ छ । पीडित पक्षले बालबालिकाको पालनपोषण, उनीहरूको शिक्षादीक्षा र रोजगारी सुनिश्चितता गर्नुपर्ने, ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेसी नगरपालिका–७ सुर्खेतका ३८ वर्षीय पत्रकार गेलाङ १५ वर्षयतादेखि रेडियो तथा पत्रपत्रिकामा काम गर्दै आएका थिए ।
बुधवार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नम्बरको टिप्परले भे८प ७६०४ नम्बरको मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान ११ः४५ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले टिप्पर चालक कालु भनिने सन्तबहादुर राईलाई बुधवार बेलुका कोहलपुर बाँकेबाट नियन्त्रणमा लिइसकेको बताएको छ ।