२२ जेठ २०८३, शुक्रबार

सत्तारुढ दलकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

सत्तारुढ दलकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

काठमाडौं–सत्तारुढ नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । 

“सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने ।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । 

“संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजीनामा दिनुस् ।” उनले भने ।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने ।

मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो । 

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्दधरले दिएका छन् । 

“म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।” उनले भने ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।

यस्तै  प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए ।

कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो । विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो । प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए । 

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्