
बुटवल- प्रदेश नम्बर पाँचले सरकारले आज आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट ल्याउँदै छ ।
मुख्यमन्त्री तथा आर्थिक योजना मन्त्री शंकर पोखरेलले दिउँसो ३ बजे प्रदेशसभा भवन बुटवलमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
गत वर्ष २९ अर्बको बजेट ल्याएको प्रदेश सरकारले अहिले त्यसलाई बढाएर ३३ देखि ३५ अर्बसम्मको ल्याउने तयारी रहेको छ । बजेटले कृषि, उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेको छ ।
यस वर्षको बजेटमा संसद विकास कोषका लागि रकम छुट्याइने छैन । प्रदेश ५ मा गतवर्षभन्दा संघीय सरकारबाट आउने तीन शीर्षकका बजेटको मात्रा आठ अर्ब १३ करोड बढी रहेको छ । सोही अंक र आन्तरिक स्रोतमा करीब एक अर्ब वृद्धि हुने अपेक्षासहित बजेट बनाइँदैछ । अहिलेको बजेटमा संसद विकास कोष भन्ने रहने छैन ।
नेकपा संसदीय दलले क्षेत्र विकास वा सांसद विकास कोषमा रकम नदिन आग्रह गरेपछि यो शीर्षकमा बजेट विनियोजन नहुने अपेक्षा गरिएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट सात अर्ब ५४ करोड एक लाख बजेट आएको छ ।
त्यस्तै राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, शसर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ । चालु आर्थिक वर्षको पूँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभइ सञ्चित हुनेछ । सो रकमसमेत गर्दा ३३ अर्बको हाराहारीमा बजेट आउने सम्भावना देखिएको हो ।
मन्त्रालयका अधिकारीहरुले भने २३ देखि ३५ अर्बको बजेट आउने बताएका छन् । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्षमा छन् । कतिपय मन्त्रीहरूले खर्च नभएको बजेटबाट पूर्ति गर्ने गरी ऋणात्मक बजेट ल्याउन आग्रह गर्दै आएका छन् । बजेटमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले विस्तारित रूपको निरन्तरता पाउनेछ ।