
कैलाली- कैलालीको जानकी गाउँपालिकाले महिलालाई स्यानेटरी प्याड बनाउने तालिम दिएको छ । महिनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचतमा सहयोग होस् भनी तालिम दिएको गाउँपालिकाले जनाएको छ ।
'महिलाहरू आफैंले स्यानेटरी प्याड बनाएमा खर्च बचत हुन्छ । ग्रामीण महिलाले खर्चिलो प्याड प्रयोग गर्न सकेका छैनन्,' गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले भने, 'महिनावारीमा सरसफाइसँगै महिलालाई आवश्यक पर्ने प्याड बनाउन सिकाउने उद्देश्यले यो तालिम दिइएको हो ।'
महिलाले महिनावारीको समयमा प्रयोग हुने लुगाफाटाको प्रयोगबाट विभिन्न सङ्क्रमण हुने गर्छ । जसले महिलाको स्वास्थ्यमा असर गर्छ । विपन्न तथा सिमान्तकृत महिलाले प्याड खरीद गरेर प्रयोग गर्न सक्दैनन् । गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भनिन्, 'हामीले स्वस्थ र सफा प्याड आफैं बनाइ आफू र परिवारको स्वास्थ्यका लागि यस्ता खाले कार्यक्रम ल्याएका हौं ।' उपाध्यक्ष महतोले स्यानेटरी प्याड बनाउने व्यवसाय गर्न चाहने महिलालाई गाउँपालिकाले सहयोगसमेत गर्ने बताइन् ।
'महिनावारीको समयमा महिलाले आफूलाई आवश्यक पर्ने प्याड घरमै तयार गरी प्रयोग गर्ने बानीको विकास गर्ने पहिलो उद्देश्य हो,' उपाध्यक्ष महतोले भने, 'आगामी दिनमा व्यवसायी र उत्पादनमूलक कार्यक्रममा लगानी गर्छौं ।'
स्थानीय हिमा महतेले आफूले सिकेपछि गाउँका अन्य महिलालाई समेत सिकाउने बताइन् । 'हामीले आफ्नो सरसफाइमा समेत ख्याल गरेका रहेनछौं, तालिममा प्याड बनाउन सिक्नुका साथै सरसफाइबारे पनि ज्ञान पाएका छौं,' हिमाले भनिन्, 'एकपटक प्रयोग गरेको प्याड धोएर फेरि प्रयोग गर्न मिल्नेरहेछ, यसले आर्थिक बचतसमेत हुने भएको छ ।' तालिम नौ दिनसम्म चल्ने, तालिममा १४० महिला सहभागी छन् ।