१२ साउन २०८३, मंगलबार

जर्मन कविता सम्झिँदै गगनको गर्जन- यहाँ अरिंगालबाहेक काेही सुरक्षित रहँदैनन्

जर्मन कविता सम्झिँदै गगनको गर्जन- यहाँ अरिंगालबाहेक काेही सुरक्षित रहँदैनन्
फाइल फोटो

काठमाडौं –नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद गगन थापाले सरकारले अभिव्यक्ति स्वतन्त्रताविरोधी कानून ल्याउन लागेको भन्दै चर्को विरोध गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि, मिडिया काउन्सिल लगायत विधेयक संविधान र अभिव्यक्ति स्वतन्त्रताको खिलाप रहेको जिकिर गरेका हुन् ।

कांग्रेसको विरोधका बाबजुद विधेयक पारित गर्न खोजिएको भन्दै उनले भने– ‘यो कानून संसद्बाट पारित हुनु भनेको संविधानको खिलाप मात्र होइन, हाम्रो आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो । त्यसैले आजैबाट यसको विरोधमा बोल्न, लेख्न, जनमत सिर्जना गर्न लागि सबैलाई अपिल गर्न चाहन्छु ।’ 

यो विधेयक आए सरकारका ‘अरिंगाल’ (कार्यकर्ता)हरू मात्र सुरक्षित हुने उनको जिकिर छ । ‘जिस्क्याउने, होच्याउने भनेको के हो ? यस्ता शब्द राखेर यो विधेयक आयो भने कोही पनि सुरक्षित छैन । सरकारका अरिंगालहरू मात्र सुरक्षित रहनेछन्,’ उनले भने ।

आफूलाई मन नपर्दा जोसुकैको पनि मुख थुन्न सक्ने गरी कानून बनाउन लागिएको उनको आरोप छ । 

‘यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त पार्ने गरी गाली बेइज्यती गर्न पाउने, अनि सरकारलाई मन नपर्दा गाली बेइज्यति शिष्टाचार र नैतिकताका नाममा जसको जुनबेला मन लाग्यो गएर मुख थुन्न पाउने गरी कानून सरकारले बनाउन लागेको छ,’ गगनले थपे ।

यो कानूनबाट कोही पनि सुरिक्षत नहुने भन्दै गगनले जर्मन कवि मार्टिन नीम्योलरको एउटा कविता पनि सुनाए ।

‘म यहाँ जर्मन कवि मार्टिन नीम्योलरको एउटा कविता स्मरण गर्न चाहन्छु, उनीहरू पहिले समाजवादीलाई लिन आए, 
म बोलिनँ, किनकी म समाजवादी थिइनँ ।
उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए, 
म बोलिनँ, किनकी म ट्रेड युनियनकर्मी थिइनँ ।
उनीहरू जुजलाई लिन आए,
म बोलिनँ, किनकी म जुज थिइनँ ।
जब अन्तिममा उनीहरू मलाई लिन आए,
मेरा लागि बोल्नलाई बाँकी कोही थिएन ।’ 

गगनले भने, ‘यस्तै अवस्था आउँदैछ । बोलौं, उठौं, जागौं । यो कानूनविरुद्ध अहिले हो बोल्ने बेला ।’

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्