०१ असार २०८३, सोमबार

उत्तर कोरियालीहरूले नेपालमा व्यापार गतिविधि बढाएको भन्दै अमेरिका चिन्तित

उत्तर कोरियालीहरूले नेपालमा व्यापार गतिविधि बढाएको भन्दै अमेरिका चिन्तित

काठमाडौं – नेपालमा उत्तर कोरियालीहरूले व्यापार व्यवसाय बढाएकोमा चिन्ता व्यक्त गर्दै अमेरिकाले नेपाल सरकारलाई उत्तर कोरियालीहरूमाथि प्रवेश रोक लगाउन अनुरोध गरेको छ । 

संयुक्त राष्ट्रसंघको सदस्य मुलुक भएको नाताले नेपालले उत्तर कोरियामाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धको सम्मान गर्नुपर्ने अमेरिकाको भनाइ छ । 

उत्तर कोरियाका लागि विशेष अमेरिकी दूत मार्क लाम्बर्ट नेपालको तीनदिने भ्रमणमा छन् र उनले यो अपील सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू तथा नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाललाई गरेको द हिमालयन टाइम्सले शनिवार छापेको छ । 

उनले नेपालमा उत्तर कोरियालीहरूको व्यापारिक गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गरे । नेपालमा बसेर उत्तर कोरियालीहरूले साइबर अपराध गरिरहेको हुनसक्ने लाम्बर्टले डर व्यक्त गरेको उनलाई भेट्ने एक सांसदले बताए । 

सांसदहरूसँगको भेटघाटमा लाम्बर्टले उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाएको र नेपालले सदस्य मुलुकको हैसियतमा यो निर्णयको सम्मान गर्नुपर्ने बताएको द हिमालयन टाइम्स लेख्छ । नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य बनेको थियो । 

उत्तर कोरियाले राष्ट्रसंघको बडापत्रलाई उल्लंघन गर्दै आणविक हतियार विकसित गर्न थालेपछि राष्ट्रसंघले उसमाथि अनेक किसिमका प्रतिबन्ध लगाएको छ । 

‘नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हो र उसले राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित सबै प्रस्ताव पालन गर्नुपर्ने दायित्व वहन गर्छ,’ अमेरिकी दूतावासका प्रवक्ता एन्डी डी आर्मेन्टले बताए । नेपालमा उत्तर कोरियालीहरूको बढ्दो गतिविधिका बारेमा कुराकानी गर्न लाम्बर्ट आएको पुष्टि आर्मेन्टले गरे । 

लाम्बर्टले चार सांसदहरू पवित्रा निरौला खरेल, दीपक प्रकाश भट्ट, दिव्यमणि राजभण्डारी र सरला कुमारी यादवलाई भेटेका थिए । खरेल संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति हुन् भने अन्य तीन सांसदहरू उक्त समितिका सदस्य हुन् । लाम्बर्टले नेकपाका सहअध्यक्ष प्रचण्डसँग पनि भेटघाट गरे । 

यसअघि अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अमेरिका भ्रमणका क्रममा उत्तर कोरियाको विषय उठाएका थिए । गत मे महिनामा अमेरिकाको परराष्ट्र मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरोका सहायक सचिव डेभिड जे रान्जले पनि नेपाल भ्रमणका क्रममा यो विषय उठाएका थिए ।

न्युज१८ डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्