
दार्चुला- गत जेठ पहिलो साता दार्चुलाको ब्यास गाउँपालिका हुँदै अपि हिमालको आधार शिविर जान लागेका पर्यटक बाटो नहुँदा बीचबाटै फर्किनुपर्यो । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना ब्यास गाउँपालिका–२ दुम्लीङबाटै फिर्ता भइन् ।
दुम्लीङ भन्दामाथि जान नेपालतिर बाटो नहुँदा उनीहरू गन्तव्यमा नपुगी फर्किएका थिए । गत कात्तिकमा पनि यही बाटो भएर अपि हिमाल आधार शिविर जान लागेका पर्यटकीय फर्किए ।
ब्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासीले पनि आफ्नो भूमि भएर गाउँ फर्किन बाटो नहुँदा भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गर्छन् । छ महिना ब्यास र छ महिना खलङ्गा बसाइँ सर्ने स्थानीय बाटोघाटो नहुँदा निकै हैरानी खेप्दै आएका छन् ।
गत मङ्सिरमा तिङ्कर र सीतापुलबाट दुम्लीङ झरेका नेपाल प्रहरी स्वदेशको बाटो नहुँदा नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु सीतापुल पुर्याइयो । यी सबै घटना प्रतिनिधिमूलक घटना हुन् ।
'दार्चुला तिङ्कर सडकअन्तर्गत पर्ने उक्त क्षेत्रमा ३० वर्षअघिसम्म राम्रोसँग बाटो सञ्चालन भएको थियो । अहिले यो क्षेत्रको बाटो नै अवरुद्ध भयो,' ब्यासका स्थानीय ६५ वर्षीया हाजी बोहराले भने, '६० अघिसम्म यही बाटो भएर भारतीय मान्छे ब्यास जान्थे । कैलाश मानसरोवर जाने यात्रु नेपालतिरकै छोटो र राम्रो भन्दै प्रयोग गर्थे तर अहिले आएर बाटोको अवस्था नाजुक छ ।'
ब्यास गाउँपालिका दुई दुम्लीङदेखिमाथि ठाउँठाउँमा अवरुद्ध भएको छ । केही ठाउँमा भारतले सडक निर्माणको क्रममा नेपालतिर बाटो भत्किएको छ भने केही ठाउँमा उस्तै जोखिमपूर्ण छ । बाटो निर्माणमा ध्यान नदिँदा ब्याससम्म आउने पर्यटकबीच बाटोबाटै फर्किने गरेको ब्यास–१ गागाका होटल व्यवसायी सुधा बोहराले बताइन् ।
'हरेक पटक राजनीतिक नेतृत्वले दार्चुला तिङ्कर सडक बनाउने भन्छन् तर सडक त सपना मात्रै हो, गोरेटो बाटो मात्रै निर्माण गर्न सके पर्यटक प्रवद्र्धनमा सहयोग पुग्छ,' उनले भनिन् ।
गागामा लाखौं रुपैयाँ लगानी गरेर काठैकाठबाट निर्मित होटल बनाइएको छ । नेपालको बाटो नहुँदा व्यवसायमा उत्पादन हुने अन्न, फलफूल बिक्री हुन पाएको छैन ।
ब्यासको गागाबाट अपि आधार शिविर पुग्न चार घण्टाको समय लाग्दछ । यहाँको प्राकृतिक सौन्दर्यता, हिमाल चढ्ने पर्यटक तान्न सके यस क्षेत्रको विकास हुने स्थानीय जीतसिंह बोहराले बताए । अपि हिमाल गाउँपालिका भएरभन्दा पनि ब्यास गाउँपालिका भएर अपि हिमाल आरोहण गर्न सजिलो भएको कारण पर्यटक यो बाटो आउन खोज्छन् ।
यस्तै कैलाश मानसरोवर जान नसक्नेले अपि फेदमै रहेको अपि तालसम्म पुगेर दर्शन गर्न सक्छन् । यस ताललाई छोटे कैलाशको रूपमा पनि चिन्ने गरिन्छ ।
चालु आर्थिक वर्षमा यो बाटो निर्माणमा ४५ लाख रुपैयाँ खर्च हुँदैछ । गाउँपालिकाबाट २० लाख रुपैयाँले बाटो मर्मत एवं निर्माण काम भएको हो, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले भने, 'यस्तै अहिले सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानको २५ लाख रुपैयाँ लागतमा बाटो निर्माणको काम शुरू भएको छ ।'