
काठमाडौं–विवादमा परेको गुठी विधेयकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्याकाका सांसद र मेयरहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा संघीय संसदका सदस्य, प्रदेश सभाका सांसद तथा काठमाडौंका मेयर र वडाअध्यक्ष लगायतको उपस्थिति रहेको प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
छलफलमा सहभागीहरूले विधेयक सच्चाएर अघि बढ्न सुझाव दिएका छन् । सांसद र मेयरहरूसँगको परामर्शपछि सरकारले विधेयकबारे निर्णय लिने नेकपा स्रोतले बतायो ।
छलफलमा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेताहरू सहभागी छन् । आइतवार युरोपबाट स्वेश फर्किने क्रममा पनि ओलीले विधेयक सच्चाउने प्रतिबद्धता जनाएका थिए ।
सोमवार नै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गुठी विधेयबारे सांसदहरूसँग परामर्श गरेका थिए । छलफलमा सांसदहरूले विधेयक संशोधन या फिर्ता गर्न सुझाव दिएका थिए ।
सरकारले गएको जेठ ६ गते राष्ट्रिय सभामा गुठी विधेयक टेबल गरेको थियो । विधेयकको विरोधमा काठमाडौं उपत्यकामा दैनिकजसो प्रदर्शन भइरहेका छन् ।
मंगलवारसम्म विधेयक फिर्ता नभए असार ४ गते काठमाडौंमा सशक्त प्रदर्शन गर्ने विभिन्न संघ संस्थाले चेतावनी दिएका छन् ।