
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोपमा मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार जुम्लाको गुठीचौरस्थित गुठीचौर भेडाबाख्रा फार्मको नाममा नाप नक्सा भई फिल्डबूक कायम भएको सरकारी जग्गा मालपोत कार्यालयका निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपानेलगायत कर्मचारीले नापी कार्यालय र फार्मसँग मिलेर करीब ९३ हजार वर्गमिटर जग्गा व्यक्तिको नाममा बाँडफाँट गरेको आरोप लागेको छ ।
सशस्त्र द्वन्द्वको समयमा जलेर नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदनबाट पुनः उजागर गरी एकआपसमा मिलेमतो गरी भेडाबाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुनाकुमार श्रेष्ठलाई प्रभावमा पारी आर्थिक अनियमितता गरेको पाइएको छ ।
आयोगले तत्कालीन मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख न्यौपानेविरुद्ध ४५ लाख रुपैयाँ, हाल मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालीन खरिदार विजया शर्मा न्यौपाने र भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठीचौरका कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठविरुद्ध जनही ४५ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
जग्गा दर्ता गरी लिने हरिहर न्यौपानेविरुद्ध २ लाख २५ हजार, मुनिसचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, नवऋषि न्यौपाने र कविदत्त न्यौपानेविरुद्ध जनही ३ लाख बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
विष्णु न्यौपानेले ४ लाख ९५ हजार, देवेन्द्रप्रसाद उपाध्यायले १ लाख ९९ हजार, जानकीदत्त न्यौपानेले ३० हजार, गोमा न्यौपानेले ५ लाख २७ हजार रुपैयाँ तथा केशवराज न्यौपानेले २ लाख २५ बराबरको आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई व्यक्तिको नाममा दर्ता गरेको र त्यसमा प्रत्यक्ष रुपमा संलग्न भएकाहरूलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।