२२ जेठ २०८३, शुक्रबार

लोक सेवा अनलाइनले निराशा : पहिला घण्टौं लाइन लागेरै भएपनि फारम त बुझाइन्थ्यो !

लोक सेवा अनलाइनले निराशा : पहिला घण्टौं लाइन लागेरै भएपनि फारम त बुझाइन्थ्यो !

काठमाडौं – कञ्चनपुरकी तारा भट्टले स्थानीय तहका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनमा अनलाइन आवेदन दिन प्रयास गरेको २४ घण्टाभन्दा बढी समय भयो तर उनले युजर आईडी खोलेपछिको काम अझै सम्पन्न गर्न सकेकी छैनन् ।

http://psconline.psc.gov.np मा आएको समस्याका कारण फारम भर्न सम्भव नभएको हो । यतिसम्म कि उनले गएराति १ बजे उठेर पनि फारम भर्ने प्रयास गरिन् तर सम्भव हुन सकेन ।

उनले लोक सेवा आयोगको महेन्द्रनगर कार्यालय परीक्षा केन्द्र रहने गरी नायब सुब्बा तहमा आवेदन दिन खोजेकी हुन् तर सर्भरको समस्याका कारण उनी आवेदन दिनबाटै वञ्चित हुने अवस्था आएको छ ।

लोक सेवा आयोगले आवेदनका लागि तोकेको मिति आज (मंगलवार) सम्म मात्र हो । भोलिबाट १ सातासम्म थप समय त छ तर त्यस अवधिमा फारम भर्दा दोब्बर दस्तुर बुझाउनुपर्छ । 

बारम्बार प्रयास गर्दा पनि फारम भर्न सम्भव नभएपछि उनले निराशा व्यक्त गरिन्, ‘योभन्दा त पहिले नै ठीक थियो, बरू लाइन बसेर भएपनि फारम बुझाउन त पाइन्थ्यो ।’

कस्तो छ समस्या ?

शुरूमा लोक सेवाको विज्ञापनमा अनलाइन आवेदन दिने पेज http://psconline.psc.gov.np नै खुल्दैन । ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सूचना स्क्रिनमा देखिन्छ ।

केही गरी साइट खुल्यो भने नयाँ प्रयोगकर्ताहरूले ‘युजर आईडी’ खोल्नुपर्ने हुन्छ । युजर आईडीको फारम भर्ने क्रममा अन्य विवरण त सजिलै भर्न सकिन्छ तर जब जन्म मिति भर्ने ठाउँमा पुगिन्छ त्यहाँ लामो समय लाग्छ । सिस्टममा नै राखिएको वर्ष, महिना र गतेको विकल्प छान्न निक्कै मुस्किल पर्छ, अड्किराख्ने समस्या छ ।

बल्लतल्ल जन्म मिति छानेपछि अन्य विवरण भरी सब्मिट गर्दा फेरि ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सूचना स्क्रिनमा देखिन्छ । केही गरी प्रक्रिया अघि बढिहाल्यो र माथि भरेको विवरणमा केही त्रुटि देखियो भने माथिकै प्रक्रिया र झण्झट दोहोरिन्छ ।

यति झन्झट पार गरेर युजर आईडी खुलिहाल्यो भने लग इन गरेर ड्यास बोर्डमा पुगिन्छ । त्यहाँ विज्ञापनहरूको सूचना राखिएको छ । 

यदि कसैले त्यहाँ नै गएर विज्ञापन हेर्न चाह्यो भने सम्भव नै हुँदैन । 

बल्ल शुरू हुन्छ, फारम भर्ने काम । फारम भर्ने क्रममा अड्चन आउँछ शैक्षिक योग्यताको विवरण भर्ने पेजमा । शैक्षिक योग्यताका प्रमाण पत्रहरू पीडीएफ फम्र्याटमा राख्नुपर्ने हुन्छ ।

कति साइजको डकुमेन्ट अपलोड गर्ने भन्ने जानकारी बाहिरै देखाइएको हुँदैन । जब डकुमेन्ट एट्याच गरेर अपलोड गर्न खोजिन्छ, धेरैबेरपछि साइज मिलेन भन्ने सूचना अघि आउँछ । फारम भर्न खोज्नेले बल्ल थाहा पाउँछ डकुमेन्ट ३०० केबीभन्दा बढी साइजको नहुनुपर्ने रहेछ ।

साइज मिलाएर फेरि अपलोड गर्न खोज्दा ‘दिस साइट कान्ट बी रिच्ड’ भन्ने सूचना स्क्रिनमा आइहाल्छ, अर्थात् पेज नै खुल्दैन ।

यस्तै समस्याका कारण सेवाग्राहीहरूले लोक सेवामा आवेदन दिन सकिरहेका छैनन् ।

कार्यालय समयमा समेत उठ्दैनन् लोक सेवाका कुनै पनि फोन !

समस्याबारे गुनासो राख्न लोक सेवाको वेबसाइटमा राखिएका फोन नम्बरमा सम्पर्क गर्दा कुनै पनि फोन उठ्दैनन् । ०१–४७७१४८८, ०१–४७७१४८१, ०१–४७७१४९४, ०१–४७७१५२८ मध्ये कुनै पनि नम्बरमा कुनै पनि समय फोन नउठ्ने समस्या छ ।

लोक सेवा आयोगले सोमवार नै सर्भर थपेको जनाएपनि समस्या ज्यूँका त्यूँ छ । सेवाग्राहीहरू लोक सेवा आयोगको कमजोरीका कारण दोब्बर शुल्क बुझाएर आवेदन दिनुपर्ने बाध्यतातर्फ धकेलिँदैछन् तर दोब्बर दस्तुर तिरेर पनि फारम भर्न सकिने ग्यारेन्टी अहिलेको अवस्थाले देखिँदैन ।

अपेक्षाभन्दा कम आवेदन आउँदा पनि किन समस्या ?

लोक सेवाले स्थानीय तहका लागि विज्ञापन खोलेपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भनेका थिए, ‘४ लाखभन्दा बढी आवेदन आउने अनुमान गरेका छौं ।’
ठूलो संख्या र लामो समयपछिको विज्ञापन भएका कारण त्यसभन्दा अझै बढी आवेदन आउन सक्ने अनुमान उनको थियो । त्यसक्रममा उनले अघिल्ला वर्षमा सरदर ६ लाख आवेदन पर्ने गरेको तथ्यांक पेश गरेका थिए ।

लोक सेवा स्रोतका अनुसार आवेदन आजको मितिसम्म अपेक्षितभन्दा कम नै छ तर सेवाग्राहीहरूको चापका कारण सर्भरमा समस्या देखिँदैछ ।

किन त यस्तो ? संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि आवेदक अन्योलमा परेका कारण अन्तिम समयमा आवेदन दिनेको चाप बढेको छ । संसदीय समितिको निर्देशनपछिको १–२ दिन निकै कम आवेदन परेका थिए । 

सर्वोच्च अदालतले विज्ञापन रोक्न माग गर्दै परेको रिटमा ‘स्टे अर्डर’ जारी नगरेपछि पछिल्लो २ दिनयता आवेदन दिनेको संख्या ह्वात्तै बढेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्