काठमाडौं – भारतको मध्य प्रदेशस्थित देवास शाजापुर लोकसभा सीटबाट चुनाव जितेका सांसद महेन्द्र सिंह सोलंकीले सोमवार संस्कृत भाषामा लोकसभा सदस्यताको शपथ लिएका छन् ।
उनले संस्कृत भाषामा लिएको शपथको भिडियो भाइरल बनेको छ ।
सोलंकी इन्दौरको अदालतमा न्यायाधीश थिए र उनले जागिरबाट राजीनामा दिएपछि राजनीति गर्न थाले ।
उनी गरीब परिवारबाट आएका हुन् । उनका मातापिताले उनी र उनका तीन दिदीबहिनी दाजुभाइलाई देवास जिल्लाको नरखेडी गाउँबाट इन्दौर लगेका थिए । इन्दौरमा उनका पिताले मजदूरी गर्थे ।
आमाले पनि इन्दौरबाट उँडासा रेलवे स्टेसनमा ओर्लिएर त्यहाँबाट चार किलोमिटर पैदल हिँडेर खेतमा अन्नबाली काट्ने काम गर्थिन् । दुःख गरेर मातापिताले चार सन्तान हुर्काएका थिए ।
गरीबीका कारण उनका दाजुभाइ दिदीबहिनीले पढाइ पनि पूरा गर्न सकेनन् । तर सोलंकीले पढाइ जारी राखे र कानून अध्ययन गरेर न्यायाधीश बने ।
अहिले उनी राजनीतिमा अघि बढेका छन् ।
एजेन्सी