
काठमाडौं – चीनका राष्ट्रपति शी चिनफिङले यसै साता उत्तर कोरियाको पहिलो राजकीय भ्रमण गर्ने भएका छन् । आणविक निःशस्त्रीकरणको वार्ता असफल भएको महिनौंपछि प्योङयाङको आणविक कार्यक्रम सम्बन्धी तनाव घटाउने प्रयासस्वरूप उनी त्यहाँ जान लागेका हुन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले शी उत्तर कोरियाको भ्रमण गर्ने १४ वर्षमा पहिलो चिनियाँ नेता भएको बतायो । शीले उत्तर कोरियाका नेता किम जोङ–उनलाई बिहीवार र शुक्रवार भेट्नेछन् ।
उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले पनि यो भ्रमणको घोषणा गरेको छ तर कुनै विवरण खुलाएन ।
अमेरिकाले शीको भ्रमणबाट विश्वको ध्यान अझै पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणमा रहेको बताएको छ । ‘हाम्रो लक्ष्य भनेको अध्यक्ष किमले सहमत भएअनुरूप पूर्ण र पुष्ट आणविक निःशस्त्रीकरण नै हो,’ ह्वाइट हाउसका
एक अधिकारीले दक्षिण कोरियाको योन्हाप समाचार संस्थालाई बताए ।
जुन महिनाको अन्त्यतिर जापानको ओसाका शहरमा हुने जी२० शिखर सम्मेलनपछि ट्रम्पले गर्ने दक्षिण कोरिया भ्रमणअघि शीको प्योङयाङ भ्रमण भएको हो ।
द गार्डियनबाट