२५ जेठ २०८३, सोमबार

नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो : मन्त्री खनाल

नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो : मन्त्री खनाल
फाइल फोटो

ललितपुर- कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताएका छन् । 

कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले मंगलवार खुमलटारमा आयोजना गरेको ‘नेपाली तरकारीको सामाजिक–आर्थिक पक्ष र त्यसबाट प्राप्त हुने पौष्टिक आहार’ विषयको दुइदिने छलफलको उद्घाटन गर्दै उनले नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा खासै ध्यान नदिएका कारण देशका धेरै सरकारी जमिन बाँझो रहँदै अन्य मुलुकसँग परनिर्भर बन्नुपरेको औंल्याए । 

मन्त्री खनालले नेपाललाई आवश्यक बीउबिजन र खाद्यान्न आपूर्तिमा समस्या हुनु नेपालका वैज्ञानिकको कमजोरी भएको बताए । 'नेपालको कृषितर्फको संयन्त्र बलियो निर्माण गर्न सकेको छैन,' खनालले भने, 'विसं २०३२/३३ तिर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अवस्था निकै राम्रो थियो । त्यसका आधारमा हाल कृषि उत्पादनको क्षमता १० गुणा वृद्धि हुनुपर्नेमा झन खुम्चिँदै गएको देखिन्छ ।'

अनुसन्धान क्षेत्रका वैज्ञानिकको सोच र अर्काको नक्कल गर्ने परिपाटी बढ्दै जाँदा नेपालले कृषि क्षेत्रमा अघि बढ्न नसकेको उनको भनाइ थियो । 

हाल नेपालमा ६६ प्रतिशत किसान कृषिमा आधारित रहेको उनले जानकारी दिए । विगतमा सरकारले कृषि उत्पादनका लागि छुट्याएको जमिन हाल अधिग्रहण हुँदै जानु र सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिनु यस क्षेत्रको समस्या भएको उनले बताए । कृषि क्षेत्रमा कार्यरत सरकारी निकायले समग्र कृषि क्षेत्रको विषय उठानभन्दा पनि सरकारसँग बजेटको मात्रै माग गरेको उनको आरोप थियो । उनले भने, 'नेपालमा किसान कृषिका धेरै क्षेत्र संलग्न भए पनि देश कुखुरा र अण्डाको आपूर्तिमा मात्र आत्मनिर्भर बन्न सफल भएको छ ।' 

देश अहिले खसीबोका उत्पादनमा ७० प्रतिशत र पाडा उत्पादनमा ९० प्रतिशत आत्मनिर्भर भएकामा आगामी दुई वर्षमा शतप्रतिशत आत्मनिर्भर बनाउने मन्त्रालयलको योजना रहेको उनले जानकारी दिए । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव महेशकुमार अधिकारीले प्रतिष्ठानले कृषिका लागि आवश्यक औजार, बाली, बीउबिजनलगायत क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्